मोहन सिंह साउद

 

पूजीवादी वा साम्यवादी सिद्वान्त अङ्गीकार गर्छौ
पार्टीका घोषणापत्रमा झुटा बाचा लेख्छौ
जनतालाई कहिलै पूरा नगर्ने आश्वासन् बाँड्छौ
चुनाव हार्ने डरले अपवित्र गठबन्धन् गर्छौ ।

घरी यो सँग मिल्छौ घरी ऊ सँग मिल्छौ
कार्यकर्तालाई विवेकबन्धकमा राख्छौ
अघिपछि बडो सिद्वान्तका दर्शन छाँट्छौ
स्वार्थका लागि सिद्वान्तलाई तिलाञ्जली दिन्छौ ।

कुर्सीका लागि देश नै दाउमा राख्छौ
बहुमत होस या दुईतिहाइ सरकार ढालेरै छाड्छौ
कोठे बैठक बसी संसदमा ताली पिट्न लाउँछौ
तानाशाही शैलीमा निर्णय लाद्ने काम गर्छौ ।

हात्तिको दाँत देखाउँदै भित्र भित्रै गला मिलाउँछौ
जनता झुक्याउन एकले अर्कालाई गाली गर्छौ
कसैले नदेख्ने गरी डिनर पार्टी गर्छौ
सस्ता नारा लाउँदै देशलाई सिंगापुर बनाउँछु भन्छौ ।

कहिलै शिक्षा सुधार्ने गठबन्धन गर्या छौ
वेरोजगारी समस्या हल गर्ने छलफल गर्या छौ
युवा खाडी मुलुक जान नपर्ने योजना बनाका छौ
कृषि स्वास्थ्यमा लगानी थप्ने नीती ल्याका छौ

देशलाई गुलाममुक्त गर्न एकता गरेका छौ
भ्रष्टाचार हटाउने उपाय खोजेका छौ
कमिसन तस्कर अन्त्य गर्ने कुरा सोच्या छौ
उत्पादन बढाएर आयात घटाउने योजना बनाछौ

आफ्नै स्वार्थका लागि कति गठबन्धन गर्छौ
जनतालाई बेकुप बनाइ कति दिन टिक्छौ
कुर्सीका लागि जे नि गर्न तयार हुने
धिक्कार छ तिम्रा ठगबन्धनलाई !

         सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी