

डा. उमाकान्त शर्मा
१
डोलीमा डल्ली
डल्लीलाई कसैले
हाई डोली भन्दा
डल्ली रमाउँछिन्
मुसुक्क हाँस्छिन्
भुलिन् उनले
दौरा सुरुवाल लाउने
आफ्नु बाबुलाई
ढुङ्ग्री बुलाकी लाउने आमालाई
डर पो लाग्न थालो मलाई
कतै डल्लीका डोलीले
हाम्रा धनमायाँ दिलमायाँहरुलाई
बोकी लाने छैनन् र !
२
शताब्दिको अभिशाप
शताब्दिको मार्तोलले पिटिएको
मेरो कलेजो पनि अब त ढुङ्गो भइसकेछ
कसैका ताता आँसुले
पगाल्न नसकेको
कसैका मुस्कानका फिलिङ्गोले पनि
जलाउन नसकेको
यो कलेजो ढुङ्गो भई
अब त पर्खाल बनिसकेछ।
३
जीवन
बाघले खेद्दै गरेको
एउटा मृत्युमुखी हरिण
आँखामा छन् हजार सपना
अरु उसको कलेजोको
स्पन्दन नै हाम्रो जीवन ।
४
निकम्मा भएर हुन्न
बाटो अझै लामो छ
खुट्टा थाकेर हुन्न
लक्ष्य तिम्रो निर्भुल छ
निराश भएर हुन्न
भुँडी तिम्रो भोको छ
हताश भएर हुन्न
अघि बढ्नै पर्छ जब
पछि फर्केर हुन्न ।
तिमी जब अमर छौ
मृत्युसँग डरेर हुन्न
आफ्नो काममा अटल बन
निकम्मा भएर हुन्न ।
५
यौवन एक छल मात्र हो
यौवन त
धूपदानी बाट निस्केको
सुवास झैं
क्षेणिक आनन्द दिने
मूर्ख जनतालाई प्रलोभीत पार्ने
एउटा छल मात्र हो
एकछिन पछि नै सुवास हराए झैं
यौवन पनि
खरानी हुन्छ अरु
यौवनको सबै आशा र अभिलाषा
हावामा बिलिन् भइसकेको हुन्छ ।
६
कुवाको भ्यागुतो
नयाँ पृथ्वीमा झरो
नयाँ परिवेश उसलाई मन परेन
कुवाको चारैतिर उफ्रिन थालो
सायद कुवामै फेरि पस्ने
उसको प्रयास छ।
७
तिम्रो रुप
दर्पण अघि
कति केश सजाउँछौ
कति सुगन्धि प्रलेपमा डुब्छौ
मानवताको ऐनामा पनि हेर
तिमी त प्लास्टिककि फूलपो रहिछौ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

