म परदेशीएको नभए
म आसपास् नभएकोमा
केही मान्छेहरु अत्यन्तै खुसी हुन पाउने थिएनन,
फेरि अलिकति मान्छेहरु थोरै दुःखी हुन पनि पाउने थिएनन्
मेरा आफन्तहरू
मेरा साना तिना गुनहरु सम्झिएर
जो मेरो गुन गाएर थाक्तैनन् आजभोलि
तिनीहरु म मा बैगुनै बैगुन् औंल्याई रहेका हुन्थे
म परदेशीएको नभए
मेरो भाइ
हातमा रिमोट अँठ्याएर बैठक कोठामा
अफ्नो रुचिको च्यानलमा
बहिनीहरु उपर
आफ्नो हैकम
जमाइहेको हुँदैनथ्यो
मेरो सिरानीको ठीक माथि
मैले टाँसेको हलिवुड हिरोइनको तस्विर हटाएर
बलिवुड हिरोइनको तस्विर टाँस्ने आँट
मेरो भाइमा कहिल्यै न आउन सक्थ्यो
म परदेशीएको नभए
म परदेशीएको नभए
पोक्चि
जो स्कुल देखि कलेज सम्म मेरो पछि लागी रही
परदेशबाट नफर्किउन्जेल कुरी रहन्छु
भनेर कसम खाइरही
अनि
आँसुले निथ्रुक्क भएर मलाई बिदा गरी
र पनि कुरी रहँन सकिँन
उ आज अर्कैको साटो
मेरै तीन सन्तानकी आमा बनेकी हुन्थी
म परदेशिएको नभए
मेरा एक झुन्ड देश प्रेमी साथीहरु
बर्षमा एक दुइ फेरा
भुँडी फुट्ने गरी ‘ड्युटी फ्री’ को झोलमा
रात रात भर ढाडिएर
बिहान भर अमीलो छादिरहेका नहुन सक्थे
मेरो निर्वाचन क्षेत्रको नेताले
एक भोटले चुनाव नजित्न सक्थ्यो
उसको साटो अर्कै मन्त्री बन्न सक्थ्यो
करोडौं कमिसन पचाउने भुँडी अर्कै हुन सक्थ्यो
अहिले उभिएको ठाउँमा नभएर
अर्कै ठाउँमा अर्कै किसिमको महल ठडिन सक्थ्यो
एउटाको साटो अर्कैको नाममा
बालुवाटरमा एक रोपनी सरकारी जग्गा
ब्यक्तिगत नाममा पास हुन सक्थ्यो
अर्कै सालो पर्नेले
राजदुत पड्काउन सक्थ्यो
अर्कै छोरो पर्ने पिय हुन सक्थ्यो
अर्कै भतिजो पर्नेले क्रसर र बालुवाको ठेक्कामा
हाली मुहाली गर्न सक्थ्यो
तिनका छोडेका राँगा जस्ता छोरा भाइ भतिजाहरुबाट
यो नभएर
अर्कै गरिबकी छोरीको
अपहरण अनि बलात्कार हुन सक्थ्यो
अर्कै निमुखा बाउ अदालतमा मुद्दा खेपी रहेको हुन्थ्यो
म परदेशीएको नभए
सरकार बिरुद्धको स्वस्फूर्त आन्दोलनमा
एउटा संख्या थपिन सक्थ्यो
पुलिसको लाठी चार्जमा खुट्टा भाँचिनेको संख्या
एक इकाइले बढ्न सक्थ्यो
म परदेशीएको नभए
मेरी आमाको दु:खको आयतन थोरै
खुम्चिएको हुन सक्थ्यो
अक्करे भिरबाट पेवा माउ बाख्रो खसे जस्तो
आँखाका आलिबाट आमाका
केही माउ आँसुहरु
नखस्न सक्थे
सन्तान बियोगको पिडामा
उनको जिन्दगीबाट पाँच सात बर्ष उमेर
नखिइन सक्थ्यो
म परदेशीएको नभए
म परदेशीएको नभए पनि
मेरो साथी
म तिमीले जस्तो पार्टीको झण्डा बोकेर नहिँड्न सक्थें
तिमीले जस्तै
आत्मा बेचेर कालोलाई सेतो
अनि सेतोलाई कालो नभन्न सक्थें
मेरा काका मामाहरु
कुनै पार्टीका कार्यकर्ता नभएकोले
तिम्रो जस्तो मेरो जगजगी पटक्कै नहुन सक्थ्यो
म अदलित भएको भए
दलितहरु भड्काएर गाउँ बस्तीबाटै लखेटिन सक्थें
म दलित भएको भए
अदलितकी छोरी सँग कुम जोरेर हिंडेको रिसमा
चुटी चुटी मारेर भेरी नदीमा फ्याँकिन सक्थें
म परदेशीएको नभए एउटा गम्भीर कुरो
मेरो प्रिय मित्र
देश छोडेर परदेशीने सब गद्दार हुन भनेर हुंकार गर्ने तिमी
मेरो अनुहारभरी हिलो छ्यापेर
आफू सुकिलो अनि सच्चा देशभक्त नबन्न सक्थ्यौ
म परदेशीएको नभए
सबै भन्दा ठूलो कुरो
म भन्दा निम्छरो मेरो साथी
जो अहिले खरीदार बनेको छ
उ बेरोजगार भएको हुन्थ्यो
अनि सायद खाडिका बाफिला खाडलहरुमा
मेरो साटो पग्लिरहेको हुन्थ्यो
अनि सम्भव थियो आजको दिन
मेरो साटो
मेरो साथी
यहीं काठको बाकसमा खाँदिएर स्वदेश फिर्ता हुन सक्थ्यो
अनि
मेरी आमाको साटो उसकी आमा
जवान छोराको लास छेउ आँगनमा
मुर्छा परेर अलपत्र पसारिएकी हुन सक्थिन
म परदेशीएको नभए।
बिदुर, नुवाकोट
हाल- ब्रीसबेन, अस्ट्रेलिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।