प्रसन्न ढुङ्गाना

अखबारको पहिलो
पृष्ठमा छापिएको थियो
उनको आत्महत्याको खबर
उनी अर्थात
मेरी पूर्व प्रेमीका
खबरसँगै छापिएको रहेछ
उनले नै अन्तिम सम्बोधन
गरेर लेखिएको प्रेम पत्र

प्रिय मान्छे
कुनै समय थियो
म तिमीलाई प्रेम गर्थें
अनि तिमी मलाई
भनौ हामीहरू एक अर्कालाई
खुब प्रेम गर्थौं

थरी थरी सम्बोधनमा हामीहरु
एक अर्कालाई प्रेमील पत्र लेख्थौं
जस्तो कि
प्रिय मान्छे
मनको राजा
बदमास् मान्छे
फुच्ची भुन्टी
के के हो के के
सम्झिएर ल्याउँदा
मन भक्कानिएर आउँछ ।

आज वर्षौं भएछ तिमीलाई पत्र नलेखेको
अनि जवाफको प्रतीक्षामा नबसेको
मैले लेखेको लामो पत्रको
जवाफमा कहिले काहीं तिमी
सम्बोधन मात्रै गरेर पठाएको
हुन्थौ
मनको मान्छे मन भरिको माया ।

चल्दै थियो हाम्रो प्रेम
सहरको चोक अनि गल्लीहरुमा
सहर वरपरको डाँडापाखाहरुमा
त्यो भन्दा पनि बढी चल्दै थियो
एक अर्काको मनमा
तिमीलाई भेटेपछि मैले बुझेको हुँ
प्रेम हुन मान्छे सँग होइन
मन सँग भेट हुनु पर्दोरहेछ ।

चल्दै गर्दा प्रेम
बुनेका थियौं थरीथरीका योजनाको ताजमहल
सहरमा घर बनाउने देखी
सोचेका थियौं
छोराछोरीका नाम सम्म
तिमी भन्थ्यौ
छोरा भए यो नाम
राख्नुपर्छ
छोरी भए त्यो नाम
राख्नुपर्छ
सहमति जनाउँदै
हाँसे ।

तिमी र म छुट्ने दिन
रित्तो कोठामा एक्लै बसेर
खुब रोएँ म सायद मिति पनि
तिम्रो यादहरु पनि सारै जिद्दी रहेछ
न धोएर जाने न त रोएर
प्यारो मान्छे
माफ गर्नु है

यो अन्तिम पत्र लेख्न खोज्दा तिमीलाई
बडो अलमलमा छु म के सम्बोधन गरेर
लेखौं पत्र
हत्यारा भनी सम्बोधन गरौं
भोली अदालतले सफाई दिन सक्छ
तिमी मान वा नमान
तिमीलाई म प्रेमी नै भनेर सम्बोधन गर्छु
किन कि प्रेम सधै अमर हुन्छ ।