प्रिय किताब
तिमिलाई उदाङ्ग राखेर
व्यस्त छु म कम्युटरको स्क्रिनमा
तिम्रा हरेक पन्नाहरु पल्टिरहेछन्
हावाका झोक्काहरुसँगै
र
पोखिइरहेछन्
तिमी भित्रको तिमी यतै कतै
तर
बेवास्ता गरिरहेछु
तिमीलाई हरेक पटक
अनि कुदाइरहेछु
मेरा औंलाहरु कम्प्युटरको किबोर्डमा
तिम्रा प्रत्येक पाना झैं
छरपस्ट छरिइरहेछन् वेब पेजहरु
ओैंलाहरु हतारहतार् दौडिरहेछन्
हतारिएको यात्री झैं
कहिले फेसबुकका वालमा
त
कहिले इन्स्टाग्राम
ट्वीटर हुँदै इस्न्याप च्याटसम्म
ट्रेन्डिङ्ग भिडियो मुभिज र वेब सिरिजले डोहोर्याउँदै
कहिले त नचाहँदा नचाहँदै पनि युटुबका पेजसम्म पुग्छन्
म बुद्धु
भुलिइरहेछु तिनैको लहैलहैमा
र
बिर्सिसकेछु तिमीलाई ख्यालख्यालैमा
लाग्छ
तिमीलाई राम्रो सँग नछोएको महिनौं भयो
तिमीलाई नियालेर नहेरेको
त झन बर्षौं भइसक्यो
मलाई थाहा छ
तिमी मेरो बेवास्तापनबाट आजित छौ
मेरो प्रत्येक कृयाकलापबाट दिक्क पनि भइसक्यौ
तर यो पनि थाहा छ कि
तिमी म बिना एक्लो मात्र हैन निर्थक पनि छौ
म बिना तिमी तिमी रहँदैनौ, तिम्रो अस्तित्व रहँदैन
त्यसैले छाडिदेउ म प्रतिका ती रिस र घृणाहरु
अनि
बसिराख चुपचाप बुक र्याकका बन्द सिसाभित्र
हिजो झैं लाग्छ
तिमी र मेरा बिच सम्बन्ध गाँसिएको
हर क्षण तिमी मेरो साथमा हुन्थ्यौ
कहिले म छातीमा टाँसेर राख्थे
त कहिले काखमा हुन्थ्यौ
तिमी पनि खुसी हुँदै
कहिले नयाँ नयाँ कथा सुनाउथ्यौ
अनि
कहिले संसारका रोचक कुराले
मलाई दंग पार्थ्यौ
म अबुझ कहिलेकाहीं बुझ्दिन थिएँ तिमीलाई
र ट्वाँ परिरहन्थे तिमीलाई हेर्दै
कहिले झोक चलेर आउथ्यो तिमीसँग त्यसै त्यसै
फ्याँकिदिन्थे तिमीलाई म बाट टाढा
हेर्न समेत बन्द गरिदिन्थेँ केही समय
तर पनि
किन किन तिमीसँग टाढा बस्नै सक्दिन थिएँ रिसाएर
त्यसैले च्याप्प समाउँथे फेरि र मायाले सुमसुम्याउथेँ
अब त ती क्षणहरु पनि एकादेशको कथा झैं भइसके
लाग्छ तिमी प्रतिको मेरो माया पनि कम भैसक्यो
तर तिमी धन्दा नमान
तिमी बिना म मात्र हैन संसार अपूर्ण छ
तिमीले दिने ज्ञानबिना मान्छे मान्छे रहँदैन
त्यसैले फेरि फर्किनेछु कुनै दिन तिम्रै चरणमा
दिनभर् डुलेर साँझमा फर्किएझैं पंक्षी आफ्नै गुँडमा
र बाचा म गर्नेछु कहिल्यै नछुट्ने तिमीसँग
किनकि तिमी बिना मेरो जीवनको औचित्य रहन्न
म म रहन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।