साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मरेको मान्छेको चिठी

Chovar Blues Mobile Size

नचढाउनू फूल मेरो चिहानमा
त्यहाँ केवल एउटा ढुङ्गा छ
जसमा मेरो जन्म मिति
र मृत्युको समय कुँदिएको छ ।
तिमीले त्यहाँ,
मेरो अतितलाई भेट्न पाउने छैनौ ।
गहिरो श्वास लिँदै
रोक्नै नसकेर झरेका आँशुले
मलाई स्पर्श गर्न पाउने छैनौ ।

नबाल्नू जोर बत्ती
नमनाउनू मेरो वार्षिकी
नओडाउनू मेरो तस्बिरमा माला
नसिकाउनू कसैलाई
मेरो चीर शान्तिको कामना गर्न ।

घामलाई समेत पोल्ने तप्त वैशाखमा
शीतल बनेर बहिरहेको छु ।
काललाई समेत तर्साउने कालो रातमा
जून बनेर चम्किरहेको छु ।
भिजाउन बाँकी सपनाहरूमा
वर्षा बनेर झरिरहेको छु ।
आधा गाएर बिर्सिएको गीतमा
शब्द बनेर घन्किरहेको छु ।

त्यो चिहानमा
केवल एउटा ढुङ्गा छ
जसमा मेरो जन्म मिति
र मृत्युको समय कुँदिएको छ ।
तर म
मेरो जन्म मितिभन्दा अघि नै जन्मिएको थिएँ
मेरो मृत्युको समयपछि पनि बाँचिरहेको छु ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...