रीतादेवी प्रधान जोशी रुमाठ

निस्कन्छ राता पहेंला जाज्वल्यमान प्रकाश
तिम्रो प्रादुर्भावबाट
मानवको जीवनचर्या तिम्रै तापमा
आधारित छन्
प्राकृतिक संरचना पनि
तिम्रै राप तापको स्पर्शकै मूर्त रूप हो
ऋषिमुनिका यज्ञकुण्डको मापदण्ड नै तिमीमै निहित छ
तिम्रै परीक्षाबाट सीताले पतिव्रता साबित गरिन्
दौपदीको जन्म तिम्रै अग्नीकुण्डबाट भएको हो
गरिन् देहत्याग सतिदेवीले तिम्रै वक्षस्थलमा ।
००
ध्वस्त भएको थियो रावणको सुनको लंका
तिमी विराजमान हुँदा हनुमानजीको पुच्छरमा
परापूर्वकालदेखि मात्र होइन
कलियुगमा पनि तिम्रा झिल्काहरूले
कति सहर नष्ट भएका छन्
फेरि कति प्राकृतिक संरचनाले
जीवन पाएका छन् ।
जंगली अवस्थामा थिए मानव
तिम्रो महत्व नबुझ्दा
जब बुझे महत्व तिम्रो
पाए सहरी सभ्यतामा
विकासको उचाइमा
आगोको रापले
जिन्दगीको आभास दिलाउँछ
फेरि त्यही आगोमा
जिन्दगीको समापन पनि हुन्छ
त्यसैले आगो जीवन हो
आगो मृत्यु पनि हो
हे आगो
तिम्रो महिमा अपरम्पार छ ।