टङ्क भट्टराई

पहिले मसँग सर्वश्व थियो
खल्तीभरी समुद्रका मोतिदाना थिए
तिमीले एक मुठी माग्यौ मैले दिएँ
मुहारमा इन्द्रेणीको सुनौलो रङ्ग थियो
तिमीले एक फाँको माग्यौ मैले दिएँ
मुटुमा अजम्बरी फूल थियो
तिमीले एक थुङ्गा माग्यौ मैले दिएँ
आँखामा सुखको सागर थियो
तिमीले एक गाग्रो माग्यौ मैले दिएँ
तिमीझैं
मित्र बनेर जो जो आए
तिनले यिनै कुराहरुरू मागे
मैले दिँदै गएँ

अहिले मेरो सर्वश्व गुम्यो
म त रित्तो केवल रित्तो भएछु
यो बेला
तिम्रो साथ खोजेको थिएँ
तर अचानक गायब भएछौ
सुन्छु यहीं सहरमा
तिमी ऐश्वर्य भोग गर्दैछौ अरे
कसैले भन्दै थियो
म पहेंलो घामझैं अस्ताएको सुनेर
तिमी जोड जोडले हाँसेका थियौ अरे
यस्तै हो मित्र
आज तिमी शिखरमा छौ
म तल कतै झरेको छु
गुमनाम भएको छु
जन्मिँदा भुइँमा झरेको थिएँ
सुनको बिछ्यौनामा होइन
अहिले पनि त्यही भुइँमै छु

बरु तिमी
सक्छौ भने उड्दै गर
सुनको वायुपङ्खी घोडामा
जमाउँदै गर इन्द्रको आसन
थाकेछौ र होशमा आएछौ भने कुनै दिन
पछि यतै कतै भेटौंला
आखिर जीवन त्यै हो
जो कुमालको चक्रझैं घुमिरहन्छ ।