यम पी.भुसाल, पर्वत

मलाई
अध्यक्ष हुन मन छ
किनकि
मैले भेटेका देखेका अध्यक्षहरू
अध्यक्ष रहेनन्
तिनीहरू
कतै ठेकेदार
कतै बिचौलिया
कतै दलाल

कतै रखौटा जस्ता भए
अत्यन्त
सस्ता भए
यो परिवर्तन हुनुपर्छ
हुन्छ
****
मलाई
मेयर हुन मन छ
किनकी
मेयर नगरपिता हो
पिता यसै हुन पाइँदैन
ठेक्का पट्टा मिलाएर
आफ्नै भिडाएर
नभएको हो भनेर
भएको होइन भनेर
क्रसर चलाएर
डोजर कुदाएर
बा, दाइ र कमरेडलाई
हप्ता बुझाएर
नगरपिता पद पाइँदैन
पाउनु हुन्न
यो जरुरी परिवर्तन हो
हुन्छ
****
मलाई
प्रदेश सांसद
प्रदेश मन्त्री
मुख्यमन्त्री जे भए पनि हुन मन छ
किनकि
अरुकै बल र त्यागमा
रजाइँ गर्ने मन छैन
बरु मेरो प्रदेश
समृद्द बनाउने योजना र कार्यक्रम
सहित अघि बढ्ने संकल्प छ
के छैन
कोशी सगरमाथामा
मधेश सुन फलाउँछ
बागमति राजधानी प्रदेश
गण्डकी लोकतन्त्रको आधारभूमि
लुम्बिनी विश्व चिन्छ तिमी चिन्दैनौ
कर्णाली बाँकी विश्वलाई औषधी हो
सुदूर टाढा छ तर गाढा छ
त्यसो भए
अबको ५ वर्षमा
समग्र हर्ष ल्याउने हो

****
भैगो यी ठूला पद नदेऊ
त्यसो भए
थोरै विचार गर
तिमीले हो भन्दा हो भन्ने
भो भन्दा भो भन्ने
आफ्नै विवेक लुकाएर
निरन्तर जागीर पड्काउने
बा, दाइ र कमरेडलाई
हप्ता बुझाउने
लुरे सांसद बनाइदेऊ

****
त्यसैले
मलाई
संघीय सांसद हुन मन छ
मलाई शिक्षा मन्त्रालय भए नि हुन्छ
धेरै त सक्दिन
जान्दिनँ पनि
तर
अबोध बालबालिकाले
राम्रो शिक्षा पाउने छन्
गरीव रोगीहरूले उपचार पाउने छन्
विद्यालय साँच्चै विद्यालय हुनेछ
अस्पताल
कमिसन र सेटिङमा बिक्ने छैन
नागरिक सम्प्रभु हुनेछन्
साँच्चै लोकतन्त्र के हो
बुझिने र आत्मसात हुने गरी प्रमाणित गर्नेछु
****
मलाई गाली नगर
हो
मैले गल्ती गरेँ मान्छु
अदना नागरिकको भोको बच्चालाई
पढाएँ सिकाएँ
बोल्ने बनाएँ
मैले हैसियत नभएको मास्टरी रोजेँ
तिमीलाई भेटी चढाउन सकिनँ
मेरो गल्ती हो र
कति नै तलब दिएका छौ र
त्यसैबाट तिमीलाई दिऊँ
ख्याल ख्याल नगर
अब पछि फर्कन मैले मिल्दैन
तिमीले अघि बढ्नु हुँदैन

समय अघि गैसकेको छ
उज्यालो नआए पनि
उज्यालोको आभास भैसकेको छ
तिम्रो समय सकिएको र
नयाँ समय आइसकेको छ
****