परिवर्तनको
बिगुल फुकेको रोल्पामा
बनेको छ भ्यू टावर
टावरको दशौँ तल्लाबाट
नदेखिएर के भो
सहिदको सपनाको गणतन्त्र
देखिन्छ प्यूठानको माडी उपत्यका
र पूर्वी रोल्पाको मनोरम दृश्य
हेल्लो कमरेड
११३ फिट अग्लो भ्यू टावरबाट
नदेखिएर के भो
शिक्षकविहीन सयौं सामुदायिक विद्यालय
स्पष्ट देखिन्छ हजारौं रोल्पालीको उपचार केन्द्र
एक जना डाक्टरको छट्पटी र अलपत्र रेउघा अस्पताल
४ करोड
७६ लाख ८८ हजारको टावरबाट
नदेखिएर के भो
हजारौं योद्धाको रगतले
सिञ्चिएको भूमिको
परिवर्तनको स्वास फेर्ने इच्छापत्र
हिसाब विहीन बेपत्ता घाइते अपांगहरुको रोदन
अवश्य देखिन्छ युद्धका नायकको चेहराको मुस्कान
सुविधा सम्पन्न महल सुख सयलको जिन्दगी
नदेखिएर के भो
माडीखोलाले बगाइ सकेका
भोक शोक रोग र गरिबीका प्वालहरु
वर्गहिन समाजको परिकल्पना खातिर
बम बारुद र गोलाले विच्छेदित शरीर
भत्किएको मन टुटेको आशा
तर छर्लङ्ग देखिन्छन्
विकासको नाममा थिलोथिलो परेका डाँडाहरु
अलपत्र बाटोमा पल्टिँदै गरेका एम्बुलेन्सहरु
सुनिन्छन भिर पाखामा
सुत्केरीको व्यथाले छट्पटिएका चेलीका स्वरहरु
भोका पेटहरूमा उभिएर
अशिक्षित नजरले हेर्दा नदेखिएर के भो
बढ्दो महँगीको रेखा
मजदुरका पट्पटी फूटेका कुर्कुच्चाहरू
भोका पेटहरुको आन्दोलन
अभिभावकविहीन बच्चाको अँध्यारो भविष्य
फेरि बन्दैछ योजना
छापिँदैछ घोषणापत्र
लेखिनेछ शिक्षा स्वास्थ्य स्वरोजगार सुनिश्चितता
तर छिट्टै बन्नेछ जलजला हिमालमा टावर
र देखिनेछ सपनाको देश स्वीजरल्याण्ड ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।