ठड्याईएका भ्यू टावरहरुको शिरमा टेकेर
कसरी सौन्दर्य हेरौं कमरेड ति अँध्यारा बस्तीहरुको

मोहन खतिवडा

अँध्यारा अनुहारहरुलाई कसरी बुझाउँ कमरेड
तिम्रा बस्तीहरुमा सौन्दर्य हेर्ने बलिया टावरहरु ठडिए भनेर

ठड्याउँनेहरु नै जहाँ बलिया छैनन्

उब्जाउँनेहरु नै जहाँ अघाएका छैनन्
म कसरी बर्णन गरौं तिम्रो सौन्दर्य टावरको कथा
कसरी बताउँ आधा पेट खाएरै अघाउँनु पर्ने व्यथा

तिमी त उडेर आउँछौ उडेरै जान्छौ
गुडेर आउँछौ गुडेरै जान्छौ
रिबन काट्छौ र नियाल्छौ चारैतिर
खै के के देख्छौ कुन्नि थाहा छैन

भो त्यति अग्ला टावरहरु भोलि फेरि नबनाऊ बिन्ति
हामी त घिस्रेरै उक्लनु पर्छ
उहि पूरानै दृष्य देख्नु पर्छ
अँध्यारै बस्ती अँध्यारै अनुहार अनि अँध्यारै भविष्य

एकैछिन टावरमाथि पुगेर उज्यालोमा अग्लिए पनि

फेरि आफ्नै अँध्यारो बस्ती झरी होचिनै पर्छ
अब त हामी उज्यालो सँग पनि डराउँन थालिसकेछौ कमरेड
अग्लो र उज्यालोसँग बहुत नफरत छ हामीलाई।