गाउँ गाउँमा भ्यू टावर बनाऊ
टुप्पोमा चढेर
जनताका वस्तीहरू हेर्यो भने
गरिबी अशिक्षा भोकमारी देखिन्छ कि कतै
सकेसम्म टोल टोलमै भ्यू टावर बनाऊ
वेरोजगार गरिबी हट्छ कि कतै
पहाडको टुप्पोमा भ्यू टावर बनाऊ
ग्रेटवालको रेकर्ड तोडीहाल्छौ कि कतै
यति राम्रो विकासे योजना लागु गर्या छौ
यस्तो नमुना देखेर विश्वले नि सिक्छ कि कतै
उत्कृष्ट नमुनाको सिको अरु देशले गरे भने
नेपाल विज्ञ निर्यात गर्ने मुलुक बन्छ कि कतै ।
अब विकास गर्न के नै पो बाँकी छ र
थरी थरीका भ्यू टावर बनाऊ
कोल्टे फर्केका बनाऊ
लिफ्टवाला बनाऊ
नागवेली परेका बनाऊ
सिँढीवाला बनाऊ
धरहरा भन्दा नि अग्ला बनाऊ
थप भ्यू टावर बनाउँदै जाऊ
त्यसैमा बजेट खन्याउँदै जाऊ
बजेटको चिन्ता नगर
बरु अलि कर बढाएर भए पनि
ठाउँ ठाउँमा भ्यू टावर बनाउँदै जाऊ
खाली ठाउँ देख्यो कि भ्यू टावर बनाउँदै जाऊ
के बेर भोलि भ्यू टावरको देश भनेर
गिनिज बूकमा नाम आयो भने
विश्वबाटै पर्यटकको ओइरो लाग्छ कि कतै ।
शिक्षा स्वास्थ्य कृषिमा लगानी लाउँनै हुन्न
अशिक्षा र गरिबी देशको समस्यै होइन
कृषिप्रधान देश हो नामै काफी छ
वेरोजगारीको लागि खाडी मुलुक छँदैछन्
उद्योगधन्दा अरु देशले खोलेकैछन्
झन विरामी त यहाँ कोही हुँदै हुँदैन
तिम्रो लागि त विदेशी अस्पताल छँदैछन् नि
भ्यू टावरबाट बचाएर होस या राज्यकोषबाट
खर्च लिएर उतै उपचार पाइहाल्छौ नि
विगत पाँच वर्षमा उल्कै विकास गर्यौ
आउनेहरूलाई पनि भ्यू टावर बनाउँने ठाउँ राख है
नत्र भने भ्यू टावर बनाउने ठाउँ नपाएर
सगरमाथाको टुप्पोमा गएर भ्यू टावर बनाइ देलान कतै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।