Chovar Blues Mobile Size

उनको जन्मदिवसमा
उनकै नाम अंकित बर्थडे केकसँगै
उनी आउने तीव्र आशमा पर्खिरहेको म

पर्खाइको त्यो छट्पटीमा,
अप्रतिम सुन्दर उनको तस्बिर हेर्दै
रोमाञ्चक स्मृतिले अन्तःमिठास पैदा गरिरह्यो

मधुमय उनका शब्दहरू
मन्त्रमुग्ध पार्ने उनका नयनहरू
उनको मधुर सामिप्यताको आकांक्षा गर्दै रहें म

उनको अनुपस्थितिले गर्दा
बोझिल बनिरहेको त्यो कठिन पलमा
कल्पनारुपी अनुपम संसारमा एक्लै डुलिरहेँ म

त्यो निस्तब्ध वातावरणमा
निभौँला झैँ गरिरहेको मैनबत्तीले समेत
शुभेच्छा दिन नपाउँदाको अधैर्यता देखाइरह्यो

मत्थर भएको प्रकाशसँगै
क्षितिजतिर विलीनन भइरहेका रवी पनि
मलाई एक्लो छोडी गन्तव्यतर्फ दौडिरहेका थिए

सम्झाइरहेको थियो मलाई
एकतमासले पग्लिरहेको त्यो मैनबत्तीले
अब यही उत्सबलाई बर्षदिन पर्खिनुपर्ने तितो सत्य

अनायास मेरा कपोलहरूमा
चिसो अनुभूति हुँदा पो थाहा पाएछु मैले
मेरा दुवै नयनहरू अकस्मात अश्रुपूर्ण हुँदै गएछन्

रुझेका ती नयनहरू लिएर
सोचें, सायद कतै मनाउँदै होलिन उनी
आफ्ना अनन्य प्रियजनहरूसँग, अद्वितीय जन्मदिवस

जसै त्यो मैनबत्ती निभ्यो
जीवनकै अविस्मरणीय पल बनाउने
चाहनालाई तिलाञ्जली दिंदै म फर्किन बाध्य भएँ ।