सुरेन्द्र अस्तफल

हाम्रो खासखुसलाई
किन मसला हाल्छन् बुज्रुकहरू
फाँटमा हराएको गोरुझैँ
बेखबर भएको बेला
खोलाको बगरमा गाएको गीत सुनेर
किन पछ्याइरहन्छौ हामीलाई
हामीसँग त
वर्णशङ्करको बेजोड तालमेल छ
सक्छौ ताली बजाऊ
सक्दैनौ चुपचाप बस
हामी खोकौँ कि बर्बराऊँ
हामी थुकौँ कि जुर्मुराऊँ
नभुल्नू कहिल्यै जनताहरू
तिमीहरू पथिक हौ
हामी तिमीहरूको गन्तव्य ।
गरेकै छैनौँ निर्णय
किन बकबक गर्छन् मिडियाहरू ?
किन फलाकिरहन्छन् पत्रकारहरू ?
किन भरिएका छन्
सामाजिक सञ्जालका वालहरू ?
लाग्छ
तिनीहरू एककिसिमका मनोरोगी हुन्
कुहिनाले हिर्काएर
दुईतिहाइको पहाड जिस्काइरहेछन्
ए देशवासीहरू
नेपालनामक यो राज्यमा
हामी नै आदि
र हामी नै अन्त्य हौँ
मात्र तिमीहरू हाम्रो चाल हेरीहेरी
आफ्नो चाल बनाउनू
र लेख्नू भनेपछि
मात्र समाचार बनाउनू ।