
न आँखामा आँसु
न ओठमा हाँसो

भरतबहादुर रानाभाट
भोक तिर्खा दबाएर
एकोहोरो काममा मात्र जोतिने
सधैं घरको धुरी खामो बनेर
घाम पानीको ओत बनि
छहारी प्रदान गर्ने
एउटा साहसीको नाम हो बा
आँट भरोसा र साहस भर्ने
धैर्यता अठोट अनि
इमानदारको पाठ सिकाउने
एउटा कर्मवीर
परिश्रम र पसिनामा
विश्वास गर्ने
पहिलो पाठशालाको
गुरुको नाम हो बा
गोरु जोतिए झै
सधैं जोतिएर
आफ्नो पौरखले
आफ्ना
लालावालाको लागि
रुखो सितो र आङ्ग छोप्ने
एक्सरो कपडाको निम्ति
जीवनभर संघर्षरत
एउटा योद्धाको नाम हो बा
आफ्ना
रहर चाहना मारेर
परिवारका लागि
हरबखत् चिन्तित हुँदै
चिरा परेका कुर्कुच्चाबाट
तपतप रगत बगाउँदै
खाली खुट्टा
दिन रात भोक तिर्खा नभनी
निरन्तर संघर्षमा रमाउने
एउटा परिश्रमका
पुजारीको नाम हो बा
भविष्यमा पाउँने
उधारो
खुसीको लागि
आफ्नो जिन्दगीको
सारा खुसी मार्न सक्ने
दु:ख अभाव र
ऋणको गरुँगो भारी
एक्लै बोकेर हिँड्दा पनि
कहिल्यै नथाक्ने र
हतोत्साहित नहुने
एउटा साहसीको नाम हो बा
कहिले हिटलर जस्तै
कठोर बन्ने
कहिले नौंनी झैँ पग्लने
कहिले अति रुखो बनेर
घरको शासन चलाउने
कहिले ममताको खानी बनेर
छोराछोरीको मुटु भित्र
बस्न सक्ने
यस्ता थरीथरीका
अभिनय कलामाखप्पिस त्यस्ता
ब्यक्तिको नाम हो बा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

