आफू हराउँछु कि भनेर
मन चिमोटिरहने
देशको समाचार सुनिरहन्छु ।
कहिले पछ्यौरी तान्छ शीरको हातले
कहिले समान बनेर डब्बामा प्याक हुन्छ प्राणले
मानवता खरानीको नाम हो कि धुवाँको
ईँट्टाभट्टामा घाट गनाउँछ
अहंम र दम्म उकालै चढेको छ
भोको कोलम्बस् पाइला
सीमा नाघ्दै छ ।

सीमापारि उभिएर कोलाज भीड़बाट
म, यतिखेर भ्रान्त मनस्थिति बोकेर
शङ्कल्परत छु
चिनारी खोज्न जाऊ उतै घरदेश
जहाँ जरजर शासकले गिजोलेको सत्ता छ
अनि घाइते माटो र मन
पिँढी दरपिँढीको पत्रपत्र संघर्ष विरुद्ध
अन्तिम विजय को शंखनाद गर्नु छ ।

त्यतिबेलै सुन्छु
देशका कर्मठ युवाहरू
सपनाहरूको ठेली बोकेर
सड़क, गल्ली र सहरमा
लाम लागेर भिसा लिइरहेछन्
कुनै मुलुकमा
अर्को सपना खोज्नु छ रे
हरियो जीवन खडेरी परेर
सस्तो लिलाममा छ रे सुन्दा
मन चिसो भएर अलमल हुन्छ ।

धेरै पटक घोत्लिएर
खोज्दै जीवनको जरो
मेरो पुर्खाले
आफ्नो अस्तित्व हराउने गरी
भस्मे फाडेको किपट छाडेर
मुग्लान किन गए ?
गाउँबाट सहर
सहरबाट परदेश बसाइँ सरेर
अभावको खाड़ल भर्न सक्यौ ?
भिसा जीवन अझै घस्रिरहेछ
जीवनदेखि जीवन भागिरहेछ

सदियौँदेखिको स्वभिमानी
नेपालीभाव किन कमजोर बन्दैछ
किन निरुत्साही बन्दैछन् युवा
किन दुख्दैछ मेची–काली
किन सर्दैछन् जङ्गेपिलर !
शासक महाशय म तिमीलाई सोधिरहेछु ।

हामी कर्म भोग्न जहाँ पुगे पनि
थात्थलोको यादले चिमोटिइरहन्छौँ
आफ्नै धर्तीको माटो भिजाउन
हंसलाई परदेशी हुन दिएकै छैनौ
आज आफूलाई पैलाएर भेटनु छ
पुर्खाको मूल थलोबाट
परिचयलाई दस्तावेज गरेर
संस्कार संस्कृतिको जीवन–दर्शनलाई
पर पर पर सम्म फैलाउँनु छ ।

माटोको मायाले बोलाएको आभास हुन्छ
पाइलाहरू फर्कन सधैँ हतास हुन्छ
पाखा भित्ताहरू उर्वर बनाउँछौ
जिन्दगीको परिभाषा हातको ठेलाले लेख्छौँ
विश्वबजारलाई आँगनमा आएर घुंडा टेकाउँछौँ ।