असल चरित्र

सोझा अटाए
फटाहा अटाए
चोर अटाए
पुलिस अटाए
जागिरे अटाए
बेरोजगार अटाए
तर अहँ म अटाइन।

भुइँमा गुडाउने अटाए
आकाशमा उडाउने अटाए
दिनभरी पसिना पुछिरहने अटाए
रातभरी त्यही पसिनाको मोल लुटिरहने अटाए
सडक र गल्लीहरुमा मागिहिँड्ने अटाए
कोही टुरिष्टहरुका पछि लागिहिँड्ने अटाए
तर अहँ म अटाइन।

कोही दिउँसै रात पार्ने बन्द कोठामा अटाए
कोही राती नै दिन बनाउने कोठामा अटाए
दिनभर गिट्टी कुटिरहने अटाए
आन्द्राको भोक भुल्याउन इट्टा बोकिरहने अटाए
रात परेपछि सस्तो भट्टिमा लोकल धोकिरहने अटाए
बाग्मती किनारमा बालुवा चाल्नेहरु पनि अटाए
इलेक्ट्रीक ग्यासका सट्टा स्टोभ बाल्नेहरु पनि अटाए
तर अहँ म अटाइन।

धुलाम्मे सडकहरूमा
मकै पोलिहिँड्नेहरु अटाए
स्वार्थ फरक फरकका निमित्त
झुटो बोलिहिँड्नेहरु अटाए
ठेला गाडीमा चट्पटे पानीपुरी मोमो स्याभाले प्याजी
खै के के बेच्नेहरु पनि अटाए
दिनभर पसिना बगाएर
रातभर पीर खेप्नेहरु पनि अटाए
कमिसनको भरोसामा
आफ्नै देश बेच्नेहरु पनि अटाए
तर अहँ म अटाइन।

यो बेमतलबी शहरमा
भाइ नचिन्ने दाजुहरु अटाए
दाजु बिर्सने भाइहरु अटाए
चेली बन्धकी राखेर बारमा छिर्नेहरु अटाए
आमाको मृगौला बेचेर क्याबिनमा बिट राख्नेहरु अटाए
बा को टोपी च्यातेर स्वाभिमानको सिंगान पुच्छ्नेहरु अटाए
माइतिको आँखामा पट्टि बाँधिदिएर
रात बिरात उन्मत्त सडकमा रमाइहिँड्ने चेलीहरु पनि अटाए
तर अहँ म अटाइन।

कोही विवशताले नाङ्गिएर पनि अटाए
कोही रहरले उन्मत्त नाङ्गिएर पनि अटाए
यति ठूलो शहरमा
देशका अटाए
विदेशका अटाए
विवशताले अटाए
रहरले अटाए
तर अहँ म अटाइन।

आफ्नै छोरीको अस्तित्व लुट्नेहरु अटाए
नाबालिक बच्चिहरुको बलात्कारीहरु अटाए
प्रशासनकै धज्जी उडाउनेहरु अटाए
कानुनकै हत्या गर्नेहरु अटाए
तिनै हत्याराहरुको संरक्षकहरु अटाए
दिउँसै भन्सार फोर्नेहरु अटाए
यत्रो बिघ्न शहरमा
घुसखोरी दलाल र ठेकेदारहर अटाए
दस घामको दुःख खेप्दै दुई छाक टार्ने कामदारहरु अटाए
लाटा सोझा मजदुरहरु अटाए
तर अहँ म अटाइन।

यत्रा ठूलो शहरको
यत्रा ठूला ठूला अनगिन्ती घरहरूमा
नेता अटाए
सभासद अटाए
मन्त्री अटाए
प्रधानमन्त्री अटाए
रास्ट्रपति अटाए
देशी अटाए विदेशी अटाए
तर अहँ म अटाइन।

यत्रो ठूलो शहरभित्र
म गजमान्छे हुँ त
कि मेरा लागि म अट्ने एउटै घर नहोस्
यति धेरै अनगिन्ती घरहरू बिच
मेरो लागि एउटै कोठा खाली नहोस्
कि कतै म माटो बिनाको धर्ती पो भए कि
कि म पानी बिनाको खोला भए
अथवा म मान्छे जस्तै बुख्याचा भए
वा म देश भएर पनि
अनागरिक पो भए कि

यो शहरभित्र सबै सबै अटाए

तर अहँ म अटाइन।