लक्ष्मण वियोगी

लक्ष्मण वियोगी

समयको आरनमा
काई परेको चेतना अर्चापेर
फेरि खन्नु छ,
निर्वाचनका बाँझा खेतहरू !
०००

विकासका फाँटहरूमा
वनमारा, उन्यू र गन्धे झार
रोप्नेहरूका नाममा
लगाउनु छ, एउटा पुरातन ठप्पा
र, भन्नु छ–
हुँडार, ब्वाँसा र बाजहरूलाई
एक पटक फेरि राजनेता !
०००

लोकतन्त्रको कोलमा
मानव तोरी पेलेर
स्वार्थको तेल निकाल्नेहरू
बुरुक्क–बुरुक्क उपिँ्रmदै
परेड खेल्नेछन्
झुप्राहरूको मैदानमा
र, मनाउनेछन्– एउटा नांगो मधुमास !
०००

खोई !
कतिञ्जेल बाँचिरहने
खिया लागेको
यो आदिम सांङ्ली तानेर ?
कतिञ्जेल हाँसिरहने
मुजा परेका ओठ तन्काएर ?
०००

कि हाम्रा जिब्राहरूमा
अफिमको करेन्ट लगाइयो ?
कि हाम्रा मुखमा हरेक साँझ
एक ट्वाक लोकल ठर्राले
मैथुन गरिरह्यो ?
नत्र किन ?
यी उत्तरआधुनिक ओठहरूले
हुँकार गर्न सक्दैनन् ?
०००

के अब, बेला भएन र ?
विनिर्माणको चौतारीमा
चेतना, विवेक र निष्ठाको
गोलमेच–सभा गर्न ?
०००

जागौं अब,
एउटा अटेरी अभियान चलाउन
भत्काऊँ त्यो
विरासतको मौलो
राखौं खाँटी
परिवर्तनका ब्याडहरू
आजै एउटा,
सिर्जनशील उद्घोष गरौं–
भो अब,
तयार छैनौं हामी
तिम्रो फाटेको दौरामाथि
इमान्दारिताको सहिछाप ठोक्न !!