शान्ति सापकोटा

 

शान्ति सापकोटा

पलपल ममताले बाँध्छ पोयो कसेर
नयन छ जब खुल्लै रुन्छु एक्लै बसेर
समय अघि खडा भो निर्दयी पो रहेछ
दिनप्रति दिन डाँडा शून्यजस्तै भएछ

श्रम सिप पर लाग्छन् वृद्ध रोगी घरैमा
भन न भन सँगाती बस्नु कस्को भरैमा
लहलह फल झुल्थे बाँझिएको छ बारी
कति टुलुटुलु हेर्ने रित्तिएको भकारी

पर मुलुक पुगेका आँसु झार्छौँ कुनामा
जनप्रतिनिधि हामी भीख माग्छौँ दुनामा
जब मुलुक सबैको साथमा जम्न सक्थ्यो
गन, घन, हँसियाले कर्ममा रम्न सक्थ्यो

ध्वनी मृदु मुरलीको सन्तको देश हाम्रो
मधुमय मन राम्रो शान्तिको पाठ राम्रो
रविकिरण उज्याला– तुल्य ती सामु आई
कति कति सुख मिल्थ्यो दिव्यतामा रमाई

सतह सतह रम्छन् आजका बुद्धिमानी
धन, पद सब ठूलो लाख ऐश्वर्य ठानी
अगणित महिमाको देशमा चल्छ बाढी
म्ुालुक छ अघि, छाडी जान थाल्यौँ पछाडि

लुरुलुरु जन लर्को चुँक्क बोली हुँदैन
खबर छ पद भिर्नै थुक्क ! छाती रुँदैन ?
परिश्रम नगरेरै को यहाँ भर्छ झोली !
यति मनन रहोस् जो फर्किनै पर्छ भोलि ।

छन्द – मालिनी

स्याङ्जा
हाल– धोबीघाट, ललितपुर