कविता: प्रेम दिवस
सुजन अनिमेष
मेरो बा जस्तै छ
यो प्रेम दिवस
झुटो प्रेमलीला रचेर
तरुनी खेती फस्टाइरहेछन्
हर साँझ मनाइरहेछन्
एउटा रङ्गीन बिस्तारामा प्रेम दिवस
एक हुस्न साटेर
यो आउँछ एक दिन
खुशी भर्छु भनेर
पीडाको खिललाई निकाल्छु भनेर
तर खै किन हो
मेरै ममीको वरिपरि
बा आउँदैनन् गुलाब बोकेर
मेरो लागि चक्लेट किनेर
अनि ओठमा मुस्कान सजाएर
अनि मिठो स्पर्श लिएर ।
बाको प्रेम दिवस
मेरी ममीसँग
मधुमासको रातमा मात्र भएको थियो
म यही बुझ्दछु अहिले
गुलाबको क्षेदन गरी
रातो रगतले पोतिदिए मेरो ममीलाई
मेरी ममीले त्यसलाई
सौभाग्यको शृङ्गार सम्झिन्
बाले क्षेप्यास्त्र परीक्षण सम्झेछन्।
क्षेपास्त्र परीक्षण गर्दा गढेको
खिल पाकेर म यत्रो भएँ
म अहिले नफरतको क्यान्सर भएर उभिएको छु
त्यो प्रेम दिवसलाई सम्झेर
अनि चुँडाले फेरि उसैगरी
पत्रपत्र च्यातेर त्यो अस्मिता
यो कस्तो प्रेम दिवस ?
फूल दिएजस्तै गरी
फूलजस्तै बैंश
निस्पट्ट अँध्यारोमा पार्नु
एक दिन आउने त्यो लुटेरा
प्रेम दिवस मनाएर हराउनु
के त्यो अजम्बरी माया हुन सक्छ ?
के यो अस्मिता लुटाउने पर्व हो र?
बाँचिरहेको खुशी
तिलान्जली दिनु र
बच्न बाँकी रहेको
ती सुन्दर सपना ओरालो लगाउनु
कसिङ्गरझैँ बढारिनु/ बढार्नु
के त्यो प्रेम दिवसको
मन्त्र श्लोक हुन सक्छन् र ?
कसरी गाउँछिन् त्यो श्लोक मेरी ममी
मलाई राम्ररी थाहा छ
हरदिन चाउरी पर्न लागेका गाला
सोचनीय एकोहोरो विचारहरूसँग
वैचारिक युद्ध गरेर
हराउँदाको पललाई
कैद गरेको छ यो आँखाले
बाको प्रेम दिवस
मेरी ममीलाई स्वीकार्य छैन
किनकि प्रेम गर्नेहरू
एक दिनको रातो गुलाबमा अल्झिदैनन्
गुलाबसँगै समाहित काँडाले घोच्छ जब
अनि फूल
फूल भएर नरहन सक्छ
दोष मेरो बाले मनाउने जस्तै
प्रेम दिवसलाई दिउँ कि?
तिमीले धान्न नसकेको गर्मी प्रेमलाई दिउँ ?
मेरो प्रेम दिवस
मेरी ममीको प्रेम दिवस
सधैँ चलिरहन्छ हमेसा
र बाले मनाउने प्रेम दिवस कहिल्यै आउँदैन
किनकि हरदिन मेरै ममीको काखमा
एउटा मिठो जीवन्त प्रेम भेट्छु
लुटपुटिन्छु र मिठो ममतामयी
आलिङ्गनमा सधैँ हराउँछु
के त्यो प्रेम दिवस हुन सक्दैन र?
के त्यो रातो गुलाब, बिनाको प्रेम
प्रेम हुन सक्दैन र?
झुटो रातो राम्रो गुलाबभन्दा
बाले जस्तै चुम्ने झुटो ओठभन्दा
मेरी ममीको स्पर्श
न्यानो काख, ती गुलाब र
झुटो प्रेम जताउने ओठभन्दा
हजारौँ गुणा प्रेमिल लाग्छ…
सजिन्छ उसैगरी छातीभरि
हाम्रो प्रेम दिवस
यसरी नै चलिरहेछ
मेरो स्कुलयात्रा, टिफिन खाजा अनि
ममीको मेरो सपनासँगै
कति फरक छ
बाको, ममीको र मेरो प्रेम दिवस ।
यो प्रेम दिवस्।
२. सिमप्याथी
लाग्दैन तिम्रो सिमप्याथीले
म पग्लेको हुँ
अवश्य पग्लेको चैँ हुँ
तिमीले पगालेकी पनि हौ
आमाले ठेकीमा दही मथ्दा
जसरी मदानीमा लाग्छन् नौनी घिउ
हो, त्यसैगरी पग्लेको हुँ र
नौनीझैँ पगालेकी हौ तिमीले।
हिमालमा जमेको सेतो हिउँझैँ
घामको जवानीमा खेलेर पग्लिन्छ हिउँ
तिमी खेल्यौ यो घामसँग
ऊ अस्तायो जून बन्नका लागि
ए हिउँ तेरो सिम्प्याथीले
ऊ तँसँग लुकेको होइन
तँलाई माया गर्न मात्र हराको हो
एकछिनको लागि
तँलाई तेरो माया पगाल्न
र हिउँ हुनुको अर्थ बुझाउन्।
घामको सिम्प्याथीले
तँ हिउँ भएर बसेको होस्
यदि तँ सधै एक रूपमा हुन्थिस् भने तेरो विदुवाको रुप हेर्न कोइ आउँथेन
ए हिउँ
तँ पनि मेरै प्रेमिका जस्तो होस्
प्रेमी बन्न प्रेमिका बिना कसरी सम्भव छ र?
त्यहि हिउँ उसै गरी पग्लिन्छ
जसरी म पग्लेको हुँ तिम्रो मायामा
हिउँ जस्तै भएर
म घाम जस्तै बनेर
त्यसै गरी पगालेकी हौ तिमिले।
हिउँसँग म लगातार खेलिरहेँ
खोल्न खोजिरहेँ अघाइन
सिमलको भुवा जस्तै हिउँसँग
लाग्दैन मैले राम्रैसँग खेलेँ
अह! हिउँले नै मलाई
नराम्रो गरी खेलिदियो।
लेक लाग्ने गरी मेरो फिलिङ्गसँग।
के हिउँको सिमप्याथीले म खेलेको हु र?
के उनको आँचललाई उडाउन म उदाको हुँ र?
मेरो आशक्ती सिमप्याथीमा
हिउँले बरु मसँग खेलेको हो र तिम्रै सिम्प्याथी प्रेममा म पग्लेको हु।
ए घाम तँ नसोच्
तेरो सिमप्याथीले फेरि हिउँ पग्लियो
र ए हिउँ
तँ आफुलाई हिउँ हुनुको घमन्ड नगर
तँलाइ मेरो सिमप्याथीले पगालेको हुँ र
तँसँगे म चैँ पग्लेको हु।
ए हिउँ!तेरो आङमा
यदि तातो जवानी घाम लाग्थेन भने त थुपरिन्थिस् रद्दि टोकरीमा
अनि विकास , योजना पुनः निर्माणको फाइलहरू थुप्रे जसरी
किन कि हाकिमको गोजिमा
मेरो सानो सिमप्याथी
नछिरिन्जेल बस्छन भट्टीमा
हो त्यसैगरी
तँ निकम्मा हुन्थिस्
मेरो देशको लाचार सरकार झैँ
प्रेममा सिमप्याथी चल्दैन
भ्रष्टाचार गर्नेहरू
योजनाको फाइललाइ
सिम्प्याथीको खोल ओडेर
रित्याउँछन् ढुकुटी
ए हिउँ त्यो फाइल जस्तै छैन म
हमेशा तँ हिउँ भएर बस्
म घाम बनेर माया गर्न आउँछु
तब तिमी हिउँ भैरहन्छौ
म तिम्रो एक प्यारो सिम्प्याथी बन्नेछु
तिमी हिउँ भएर पग्लिनेछौ
म उसै गरी पग्लनेछु
जसरी पगालेकि थियौ तिमिले।
३.कविता: रिहर्सल
आँसुकाे रङ्गहरूले पोतेर
दिलभित्रको क्यानभाषमा
आफैँलाई उभ्याएको छु।
लाग्छ कैले बारीको बीचमा
राखिएको बुख्याँचा जस्तो
कैले सुपरमार्केट्मा सजाएको डमी जस्तो।
हाँस्छु पागल झैँ एकोहोरो गलल्ल
बुख्याँचा मलाई हेरेर हाँसे जस्तै लाग्छ
अनि सुम्सुम्याउँछु त्यो डमीलाई
लाग्छ निस्फिक्री
त्यस्तै जीवन बाँचिरहेछु म।
थाहा छैन
मलाई हेरेर मेरो जिन्दगी
त्यो निर्जीव रिहर्सल गरिरहेछ या
म तिनीहररूलाइ समिप डाकेर खुद म नै रिहर्सल गरिरहेछु
अनि आफैँलाइ प्रश्न गर्छु
के जिन्दगी नाटक हो र?
के म नाटकको पात्र हु र?
किन निहुँ खोजेर यो जिन्दगी
मेरो रङ्गहीन आँसुको खिल्ली उडाउँदैछ
किन नाटकको पात्र झैँ
मलाइ नै घाँटी रेटेर डुबाउँदै छ
भन् जिन्दगी तँ मेरै पछि लागेर
मेरो पीडालाई तँ किन रिहर्सल गर्छस्?
हरेक पललाइ तँ उतार्लास्
कात्रो जस्तो सेतो पर्दा टाँगेर
अनि कात्रोले नै बेरेर
रङ्गमञ्चमा तमासा देखाउन
यो दुनियाँलाई अनि
आधा बाचेको र आधा मरेको म स्वयम्
तँ आफै भन् जिन्दगी
यो पललाइ तँ कसरी रिहर्सल गर्छस?
भित्तामा टाँगिएको ऐना झैँ
उभ्याइदिइस् मलाई
खुद मेरै अस्पष्ट जिन्दगी देख्ने दर्पण अगाडि
मेरो पागल शरीर
कचेराले पिलिएका आँखा
जुगौँ नकाटेको चिल्लो खस्रो कर्ली दाह्री
खुल्न नसकेको मलिन अनुहार
मेरा मैला पोलिस्टारको कपडा
रङ रहितको आँसु र
स्वाद सहितको आँसु
जहाँ हुबहु रिहर्सल गरिस् ।
म गरिब हुनुको पीडा बेचेर
तर खोइ जिन्दगी
मेरो चरित्रको
मैले खाएको चोटको
मभित्र तिमीले लगाएको दागको
मेरो छैँठीमा भाग्यले लेखेको कर्मको
खोइ तिमी रिहर्सल गर्न सकेको?
मेरो आत्मा धरौटी राखेर
एउटा नबोल्ने ऐनाअगाडि मेरो कथा बेच्छौ
र पनि जिन्दगी बुझ्दैनौ
अनि बुख्याँचा र डमी बनाएर
मेरो आवरणको
रिहर्सल मात्र गर्छौ
के मान्छेले देख्ने भनेको
केवल आवरण मात्र हो र ?
तिमीलाई बस् रिहर्सल गर्न आउँछ
हरएक जिन्दगीको किस्सा जोडेर ।
सक्छौ चितामा बसेर
सधैँको लागि रिहर्सल गर्न ?
अहँ कदापि सक्दैनौ
किनकि तिमीलाई हाँस्न आउँछ
डाँको छोडेर रुन आउँछ
स्वाङ रचेर कराउन आउँछ
हप्सिलले झैँ कर्कस स्वरले चिच्याउन आउँछ ।
तिमी माहिर हौ
धुँवाझैँ सल्काइदिन्छौ जिन्दगी
यी सब कुरामा तिमीलाई सिकाउन पर्दैन
रिहर्सल गर्न
समय मिल्ला नमिल्ला त्यति बेला
तिमी आफैँ भन जिन्दगी
तिमी आफैँ मरेको रिहर्सल कसरी गर्छौ ?
के जिन्दगी ऐनाले देखाउने जस्तै हुन्छ र ?
४. कविता: कन्याम
कन्या अर्थात मेरी प्रेमिका
म अर्थात तिम्रो घुम्टो उघार्ने मान्छे
तिमी मान या नमान
आफ्नो ठान या नठान
मेरो मनसँगै जोडिएर
तिमी कन्याम भएकी हौ
तिम्रो ओठजस्तै लाग्छ
यी हाँसिरहेका तीनपाते सुइरोहरू
हेर म तिम्रो छातीमा खेलिरहँदा
निः शब्द
लाज मानिरहेछन् वरिपरिका
सल्लाहरू धुपिहरू
तिमीलाई छोइरहँदा
थाहा छैन किन
मेरा सिरा धमनिहरू तेज हुन्छन्
अनि मिठो रङमा सुगन्ध घोलेर
उत्तेजित बनाउँछौ किन ?
किन कन्याम ?
तिमीमा पलाएका
ती तीनपाते चियाका सुइराहरू
मलाई मेरै सन्तान लाग्छन्
जब मसँगै
जोडिएकी कन्या हौ तिमी
अर्थात कन्याम्।
तिमीलाई हेर्न आउँदा
तिम्रो हरअङ्गलाई छुँदा
तिमी जवान भएजस्तै लाग्छ
र हरआउने यायावरहरू
मलाई छेलेर जिस्काए झैँ लाग्छ।
तिमी आफ्नो
रङ्गमय जादु छरेर हाँसिरहँदा
बादलसँग बयली र
सुसेली हालेर खेलिरहँदा
चिसो सिरेटोमा जब
तिमीसँग जोरी खोज्छ
हावा
साँच्ची त्यो मलाई मेरै जार लाग्छ।
तिमीभित्रको यौवनको राग रोक्न
म पहाड बनेर उभिएको छु
देखेकी छौ नि
तर हावा सक्दिनँ रोक्न र त्यसैले
आफ्नै जारजस्तो लाग्छ
कन्याम
तिमी बुझ्छौ नि मेरो कुरा।
कन्या तिमी चियाको बोट बन्यौ
म तिमीलाई छेक्ने पहाड बनेँ
लाग्दैन तिमी एक्लै कन्याम भएकी हौ
मसँग जोडिएर
एक अर्थपूर्ण नाम पाएकी हौ
किनकि तिमी मेरी प्रेमिका हौ
त्यसैले बिहेपछि थर जोडिएझैँ
कन्यापछि म जोडिएर
तिमी कन्याम भएकी हौ
मैले माया गर्ने प्रेमिका भएकी हौ
मेरो मुटु हौ
मेरी कन्याम।
*********************************
५. दोसल्ला कम्पनी
हरओठमा नक्कली हाँसो लिएर
कठघरामा उभिएर एकोहोरो सन्खा पुग्ने
महा मानवहरू
दोसल्ला लाएको
तिमीलाई कत्ति सुहाएन।
एक दर्जन फुट्बल खेलाडीलाई
मैदानमा
उतारेको जस्तो कहाँ हुन्छ ?
सरल र सहज
पहिल्यै गेम फिक्स गरेर जित्छ ऊ
अनि झन्डा फहराउछ
मनभरि वेदना बोकेर
अनि ओठभरि
खिस्रिक्क हाँसो लिएर
ऊ भुक्छ कुकुरझैँ निरीह भएर
अनि
दोष दिन्छ
बिना दोसल्ला सजिएका
निर्जीव मेचमाथि
कुन्ठित आवाज दबाएर बस्नेलाई
निरीह प्राणीको उपनामले
तिमी पनि
दुलहीझैँ सजिएको
त्यसै होइन
सिन्दुर लगाएको त्यसै होइन
खोल्यौ एउटा कम्पनी दोसल्लाको
अनि ओढाइदियौ घ्वाम्म
दुलहीझैँ
केका लागि
के यो मेलामा गएको पर्म हो र?
के यो दोसल्लाको धर्म हो र?
खिचातानी कैलेसम्म गर्छौ
यो दोसल्लालाई
तिमी उभिन्छौ बस दोसल्लामा
सेल्फी खिच्न
कैले बुझ्यौ
त्यो सेल्फीमा दोसल्लाको
विचार पीडा भावना
तिमीले बस खरिद गर्यौ
विभिन्न रङमा
कसैले उस्लाई बेच्न बाध्य गरायो
तिमी फुटबल खेलाडीझैँ उभ्याएर
दोसल्ला कम्पनी कैलेसम्म चलाउँछौ?
के दो सल्ला भनेको
दुई जनाको सल्लाह हो र ?
होइन, कदापी होइन
खोल कम्पनी
मनभित्र एउटा सृजनाको भावनाको
तर पर्म लगाएजस्तो
दोसल्लालाई
आफैँ सोच्न बाध्य नहोस्
म एक सिर्फ कम्पनी रहेछु
जहाँ सजीवजस्ता लाग्ने
निर्जिव गलामा थप्क्क बस्ने
हो, म निर्जीव हुँ
सजीवलाई सिँगार्छु तर
दोसल्ला कम्पनी खोलेर खुद
आफैँलाई निर्जीव साबित नगर्।
किन म दोसल्ला हुँ
दो सल्लाह हैन
त्यसैले मेरो नामको कम्पनी न खोल
दोसल्ला कम्पनी।
&&&&&&&&&&&&&&&&&&&&&&&
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।