मधुसूदन घिमिरे
आज समय
उकालै उकालो बाटो चढेर आएको छ आँगनसम्म
धेरै थोक लिएर जाने छ
यो घरको आँगनबाट
पक्कै लिएर जान्छ
डिग्री पास गरेका दाइको
हिउँजस्तै पाइलाहरू खाडीको बालुवामा
लान्छ होला
आफू जत्रै डोकामा
सुन्तला रूखबाट खसाल्दै गरेकी
सानी नानीका कोमल हातहरूलाई पराइको घरमा
लिएर जानेछ
काजी साहेबको ऋण बोकेर सपनाको सहरमा पुग्ने
छोराका चम्किला आँखाहरूलाई,
छोरा सँगै साथमा लाने छ
बुहारीको जवानीलाई
र यो घरको आँगनबाट लिएर जाने छ
निभिसकेका बुढा बाको गरुङ्घो शरीर
घर आँगन रित्तो रित्तो भएसँगै
यो क्रूर समयले लिएर गएको छ आज
बुढी आमाको मुहारको सूर्यमुखी
सब थोक लिएर गएको समयले सम्झनामा केही त छाडेर गए छ
धुलाम्मे भएको दाइको कालो झोला
रूखका सुन्तलासँगै सानी नानीको डोको
घर छाडेर बेपत्ता भएको छोरोको एक प्रति फोटो
गाउँकै काजी भनिने बाट बलात्कृत बुहारीको सिन्दूर
बाको पुरानो हात्ती छाप चप्पल
एउटा जीर्ण घर, उराठ लाग्दो आँगनी, बाँझा खेतबारी
र रङ्ग उडिसकेको आँमाको उही मैलो चोली
गुमेका छुटेका कुराहरूलाई पल्टाइरहदा
यो समयसँग मेरो एउटै अनुरोध छ
ए समय
जवानहरू लगे पनि जवानी नलगे हुन्थ्यो
आँखाहरू लगे पनि सपनाहरू नलगे हुन्थ्यो
कहानीहरू लगे पनि जिन्दगानी नलगे हुन्थ्यो
बरु दिन र रात लगे पनि साथ नलगे हुन्थ्यो
हात खुट्टा लगे पनि पौरख नलगे हुन्थ्यो
हाम्रो भेष लगेर गए पनि यो सिङ्गो देश नलगे हुन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।