तीर्थ निरौला

तीर्थ निरौला

घरिघरि जीवनको कान्लाबाट खित्का छाड्ने जुनेली रात
मधुर उज्यालोलाई पोल्टामा लुकाएर
कालो समुद्र आकासमा हिड्ने गर्छ ।

थाहा छ, चिस्यानले ढुसिएका
ती बासी उज्याला झिल्काहरू अब आउँदैनन्
तर पनि मन तरङ्गका लिप्साहरू
अविचलित चलिरहन्छन् ।

सुकेका आँगनबाट चियाएका वेनकाब मलिन अशान्तिहरू
कहिलेकाहीं धर्मराउँदा यदाकदा
बुद्ध सालिक पनि अट्टाहास हाँस्ने गर्छ
घरिघरि रुने गर्छ खिसिट्युरी छल्दै
कस्तो बिडम्बना बुद्धले न हाँंस्न पाउनु न रुनु नै पाउनु ।

तन र मनको जंगलमा त देखिएकै छ
सबैका भोगाइका अवयवहरू
कानुनका संवेदनशून्य लाशहरू
क्रान्ति र हिंसाका सन्त्रासमय छिटाहरू र
एक पित्को आनन्दको सपनामा जेलिएको
कर्तब्य प्रेम र लालचका भट्टीहरू
अनि वोधगम्य कथा र ब्याथाका लेउहरू  ।

घरिघरि जीवनको कान्लाबाट खित्का छाड्ने जुनेली रात
मधुर उज्यालोलाई पोल्टामा लुकाएर
कालो समुद्र आकासमा हिँड्ने गर्छ ।