किरण अन्जान

घर दैलोमा नाच्दै होली आएकी छन्
यिनलाई हामीले राम्ररी स्वागत गर्नुपर्छ
राम्रोसँग मेजमानी गर्नुपर्छ
सके रानी बनाएर भित्र्याउनु पर्छ
नसके ठर्रा बोतलका बोतल नुहाएर स्वागत गर्नुपर्छ
त्यतिले पनि नपुगे गनाउने नालामाथि
लमतन्न बनेर शवाशनमा सुत्नु पर्छ
यसरी नै उनलाई (होली) स्वागत गर्नुपर्छ ।

यिनलाई त धतुरो भाङले स्वागत गर्नुपर्छ
बेस्सरी मातेर तथानाम बडबडाउनु पर्छ
छिमेकीका झयालका सिसा फोर्नु पर्छ
बाटामा हिँडेका महिला केटीलाई
डँडाल्नो मनतिर बेस्सरी लोला नहानुञ्जेल
यिनलाई मज्जाले स्वागत हुँदैन
यतिले पनि स्वागत नभएको महसुस भएमा
साथी हो गोबरले एकाआपसमा छ्याप्नु पर्छ
अझै पनि खल्लो खल्लोझैँ लागे
आफैँ कनी-कनी निकालेर एकार्काको मुखभरि
लेप्नु पर्छ
यति पनि नगरेमा हाम्रो होली
संस्कारको अवहेलना ठहर्छ
हामी जंगली अशिक्षित ठहरिन्छौ
पुर्खालाई चिनाउने बाटो हुँदैन
हाम्रो छिमेकीले पनि गर्न नसकेको
होलीलाई दुई चोक्टा बनायौ
यसरी छिमेकी खुसी बनाउनु पर्छ
चाहे हाम्रो पारम्परिक होली
भाडमा नै जाओस् ।

विराटनगर १