साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लेक्की पुल

कविता

अहिले जसरी जोड्छ यसले,
समुन्द्र वारि पारिको माटोलाई
आफ्नै मान्छेका सुवासलाई ।

यो नहुँदा उहिले उहिले
त्यसरी तोडिन्थ्यो,
समुन्द्रका स-साना लगुनहरुलाई
अझ, गोरा साबका
शासनका कुर्सीहरुलाई
दास रैतीहरुसङ्ग,
उनीहरुका डरलाग्दा अजङ्गका
सबका सब सपना विपनाहरुलाई।

जसरी,
हिजो त्यै समुद्रका लगुन हुँदै आउने
भीमकाय रोयल नेभीका जहाजहरुमा,
उनीहरु बेचिन्थे
उनीहरुकै मान्छेबाट
माचिसको बट्टासँग
वाइनको बोत्तलसँग
वा भनौँ थोरै कम्पनी सिक्कासँग।

bahulako diary small and inside post

र, पुग्थे पर पर
जञ्जीरले बाँधिएर आफ्नो माटोबाट
गोरा साबका श्रम शिविरमा
धेरै पशु भएर
अलिकति मान्छे भएर।

सम्बन्धित पोस्टहरु

कविता- विकेन्ड ओ ओगा !

आज,
स्वाधीनताको गौरवमा,
टापुहरुलाई जोडदै रहेको
यो लेक्की पुल
पर पर
जङ्गल छेउका
मरुभूमि छेउका
आफ्नै अभाव र भोकले रन्थिएकाहरुलाई ।
यो शहरको वैभव देखाउँदै
रातभरि अनिदो भएर
पुराना मालिकहरुसँग कुममा कुम जोडदै,
नाच्ने सम्भ्रान्तहरुलाई
ओहरदोहर गराउँछ ।

आफ्नो झलमल भइरहने,
अजङ्गको
छातीबाट
जसरी तराउँछ,
दिनभर पसिना बोक्ने
र शरीरमै सुक्ने श्रमिकका ताँतीहरुलाई ।

महादेशकै ठूलो अर्थतन्त्र
बोकिरहेको गर्वमा !
जोडदै समुद्र र माटोलाई
जमिन र जीजिविषालाई
यो लेक्की पुल ।
——————

लेक्की पुल: लेगोस सहरका दुई टापुलाई जोडने पुल ।
लगुन : समुद्रका साना-साना हाँगाहरु ।

प्रतिक्रिया
Loading...