श्रद्धा आचार्य
स्वाभिमान र नैतिकताको पर्दा च्याती
देशको अस्तित्व नै नासिरहँदा
के तिम्रा चिप्ला ,खोक्रा भाषणले
सोझा जनतालाई झुक्काइरहन सक्छौ ?
आफ्नै इज्जत दाउमा राखी
कवाडको मूल्यमा
त्यो स्वार्थी, भ्रष्ट अनि लाचार अनुहारले
सजिलै चीरहरण गरिरहँदा
नङ्ग्याइरहँदा आफ्नै जननीलाई
के बलात्कार गरिरहेछौ
आफ्नै जन्मभूमिलाई ?
छङछङ बगिरहेका झरना अनि
शान्त बगिरहेका नदीमा
रक्तहरू मिसाउँदै
रोइरहेका पीडित आत्माहरूको
जनयुद्धमा खोसिएका कयौँ कोखहरूको
पुछिएका सिन्दुरहरूको
राष्ट्रियतामाथि
विश्वासमाथि
घात-प्रतिघात गर्दै
अनर्थ जाल बुन्दै
जनताको रगत पुसिना चुसेर
मलम लगाइदिने
तिम्रा झिना आश्वासनहरूले
चिरा-चिरा पार्दै टुक्र्याएर
लिपुलेक, कालापानी
नालापानी, सुस्ता
गुमाएको आलो घाउमाथि
तिमीले नून-खुर्सानी छर्किरहँदा
फर्फराइरहेको
चन्द्र, सूर्य अङ्कित लालध्वजालाई
अग्निमा आहुति दिइरहँदा
चन्द्र, सूर्य अङ्कित
रातो राष्ट्रिय झण्डा झुकिरहँदा
के तिम्रो आङमा
सिरिङ्ग हुँदैन कमरेड ?
तिमीले सत्ताको लागि
राजनीति खेल्दा
कुकुर र बिरालाझैँ
आफ्नै दलसँग जेलिरहँदा
नाचिरहेका छौ ताण्डव नाचहरू
पद र कुर्सीका लागि ।
प्रजातन्त्र
लोकतन्त्र
गणतन्त्र
राष्ट्रियता
स्वाधीनता
संघीयता
उल्लङ्घन गरिरहँदा
स्वाभिमानी नेपालीको शीर
विदेशीलाई बलि चढाई
पास गरिसक्दा
विरोधपूर्ण प्रस्तावहरू
आफैँले पास गरिरहँदा
के कमरेड फेल भएको महसुस हुँदैन ?
जवाफ चाहिएको छ कमरेड ।
क्रान्ति ल्याई
अरबौँ रूपैयाँको भीख मागिरहँदा
देशको अस्मिता बेचिरहँदा
देशलाई कठपुतली बनाइरहँदा
र त्यही कठपुतली
अरूको इशारामा नचाइरहँदा
कसैसँग नझुकेको मेरो शीर
सगरमाथाको शीरझैँ
उभिरहेको मेरो आत्मसम्मान
तिमीलाई झुकेजस्तो लाग्दैन ?
आफ्नै देशका स्वतन्त्र नागरिक
अनागरिक भएको जस्तो लाग्दैन ?
अरू कसैको देशसँग
परनिर्भर भएको जस्तो लाग्दैन ?
यो प्रश्नचिह्न
तिमीलाई गरेको हो कमरेड ।
कुम्हालेको चक्रजस्तो
सृष्टिको चक्रेटोमा घुमिरहेको
सोझा जनताको जीवनमा
देख्नुपरेको छ देश रोइरहेको
कसरी हेर्न सक्छौ, आफ्नै देश रोएको ?
देश धरापमा परेको देख्दा
जनताको आरोपले खेप्दा
परदेशको चपेटामा परेको देख्दा
तिमी आफैँलाई ग्लानि हुँदैन कमरेड ?
एकपछि अर्को गर्दै
भत्काइरहेछौ आफ्नै इतिहास
टुक्र्याइरहेछौ आफ्नै देश
चोइटा-चोइटा भएका छन् यहाँ
परिवर्तनका ध्वजाहरू
शान्तिका प्रतीकहरू !
कमरेड
के बुद्धका आँखाबाट रगतका आँसु बगेको देखेका छैनौ ?
यो विद्रोहको पाइला हो कमरेड ।
तिम्रो लाल सलामलाई
अब शान्ति, स्वाभिमान र स्वाधीनताको नमस्कारले छेक्ला
देश र जनताको निर्मम हत्या गरी
जनयुद्ध जितेका थियौ
त्यसमा बधाई छ
तर,
स्वाधीनता र स्वाभिमानको
अर्को जनयुद्धले
कमरेडको इतिहास नसकियोस् ।।
पोखरा -१६, कुरेचौर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।