उमाकान्त शर्मा (असम)

सभ्यताले नङ्ग्राएको समाजमा
असभ्य भै बाँच्नु परेको छ यहाँ
सभ्यताले घाइते पारेको समय
एक्लै घोरिन्छ रुन्छ अनि मनन गर्छ
यो कस्तो सभ्यता हो
यसले त जिब्रो पनि फोहर पारिसकेछ
कान भैकन बहिरो हुनु परेको छ
हुरीले सोत्तर पारेको धानका बालाझैँ
सभ्यताको हुरीले पनि सोत्तर पारिसकेछ
आँखा हेर्छु भन्दा पनि हेर्न नपाउने
आँखा थुनुँभन्दा पनि थुन्न नसकिने
साँच्चै नै यो समाज अब ता पुरै फोहर भै सकेछ ।

सबै ताता विश्वासहरू पनि अब सेलाई सकेझैँ लाग्छ
घरिघरि सुस्केरा लाउँछु एक नमिठो सुस्केरा
रातभरि जागी बस्छु कतै नयाँ आशा पलाउने हो कि !
आजको समाज त ‘ग्यास चेम्बर’ पो भै सकेछ
निस्सासिन लागेका जिउँदा लाश चल्मलाउँदै
यता र उता ठोक्कर खाँदै मर्न लागिरहेका छन्
सभ्यताले नङ्ग्राएको यो समय पनि
घाइते भै सक्यो अब ता
मन नलागे पनि ‘टिक’ ‘टिक’ गर्नु परेको छ यसले
हररात पट्ट्याइलाग्दो रात बनिसकेछ
सभ्यताले न्याचनुच पार्न लागेको समाज
बिहान चरा चुरुङ्गीको कोलाहल पनि
स्तब्ध हुन थालेझैँ लाग्छ ।

नारा, जुलुस चारैतिर चिच्याहट
जीर्ण रोगीझैँ सुस्केरा फुकेर कोही हिँडिरहेका छन्
कोही कसैको थिचाइमा मरिरहेका छन्
यो त सभ्यताले नङ्ग्राएको समय हो
समयको भुमरीमा पेलिएको समाज
आज छटपटाउन थालेछ
नङ्ग्राएको घाउ बल्झिन लागेछ
मृत्यु यन्त्रणामा ऊ छटपटाइरहेछ ।

तैपनि ऊ बाँच्न चाहन्छ
उसका आँखामा छन् हजारौँ सपना
केही गर्न चाहन्छ ऊ
यो घाइते समाजका लागि
पक्षघातमा थला परिसकेका
यी जिउँदा लाशहरूका लागि ।
******************

2. हुन्नरीमा पेलिएको समाज

हिजाज हुन्नरी चल्न लागेको छ
हुन्नरीमा शब्दहरू रुखबाट झर्छन्
विशृङ्खल शब्दहरू
कोही बटुल्न खोज्छन्
कोही उन्न
आफूले खोजेको शब्द नमिल्दा
जथाभावी जोडी दिन्छन्
अनि सृष्टि गर्छन् एक
विकृत साहित्य एक विकृत संस्कृति
जसले समाजलाई प्रदूषित पारेको छ
मानिस पथभ्रष्ट हुँदैछन्
विवेक बेचिसकेका छन्
देशको प्रगति स्तब्ध भै सकेको छ
त्यसैले आज
मान्छे जन्मिदा पृथ्वी रुन्छिन्
नयाँ यन्त्रणा थपियो भनेर
नयाँ आपत् आइलाग्यो भनेर
रुख, पात, पशुपक्षी
खोला, नाला, पहाड, नदी
सबै चिन्तित छन् भोलिका लागि
शिक्षित कहलाइएका मान्छे पनि
आज बोझ बनिसकेछ
खतरनाक भविष्यको संकेत दिँदै
ऊ अघि बढिरहेछ निरन्तर।

धेमाजी, ७८७०५७
जीला : धेमाजी , असम , भारत