रामकुमार श्रेष्ठ

आजकल मलाई, होली मन पर्न छाडेको छ
साथीभाइहरूसँग रमाउँदै गर्दा
कसैले, “यस्ले मलाई जबर्जस्ती रंग दल्यो”
भन्छ कि भन्ने, डर बढेको छ ।

चलन यही छ यहाँ, केवल एक पक्षीय निर्णय गर्ने
त्यसैले, यदि कसैले भनिदिहाल्यो भने
बिना गल्ती, सजाय भोग्नु
पर्छ कि भन्ने, डर बढेको छ ।

बिना गल्ती, “जबर्जस्ती लोला हान्यो”
भन्ने मुद्दा झेल्नु पर्ला, सजाय भोग्नु पर्दा
आफ्नै साथीभाइहरूसँगको भरोसा
गुमाउँछु कि भन्ने, डर बढेको छ ।

म गरिबको, हैसियत नै कहाँ छ र हजुर
जताततै, महँगी बढेको छ
सर-सामानमा लगाउने, कर बढेको छ
करभन्दा पनि बढी, डर बढेको छ
त्यसैले मलाई, होली मन पर्न छाडेको छ ।