देशका छोरीहरू
हे विधाता,
ईश्वरको अदालत
*************
हे ईश्वर !
तिम्रो अदालतमा अब नारीहरूले न्याय पाऊन्
मान्छेको अदालत त सौदागरहरूले
इमानको बाजारमा बेचिसकेका रहेछन्
र अदालतमा भएका कानुन पनि
बेइमानहरूसँगै बसाइँ सरिसकेछन्
अब छैनन् यहाँ सत्यलाई बुझ्ने मन
र निर्दोषलाई सुन्ने कानहरू
छ त केवल अदालतको अगाडि आँखामा आडम्बरको पट्टी बाँधिएकी
र हातमा न्यायको कालो तराजु समाएर
चुपचाप ठिङ्ग उभिएकी गान्धारी
जसले चुईँसम्म गर्दिनँ सुनेर बलात्कृत बालिकाहरूका
प्रतिरोधी चित्कारहरू
मलाई त सन्देह छ
कहीँ गान्धारीको आवाजलाई पनि कसैले खरीद बिक्री गरिसकेका त छैनन्
वा पुरुषार्थी समाजका विभेदले बाँधिएका छन् नि:शब्द ओठहरू
आँखामा बाँधिएको पट्टीझैँ
हे प्रभु,
हत्यालाई आत्महत्याको नाम दिएर बलात्कारीहरूलाई समाजमा इज्जत र छूट दिने मान्छेको अदालतमा
न्याय नपाएर म तिम्रो अदालतमा आएकी हुँ
निर्मलादेखि सम्झनासम्मका चित्कारहरू समेटिएका फाइल पेस गर्दै
ईश्वरको न्यायालयको खठघाराबाट ईश्वरसित न्यायको फैसला पर्खिरहेछु
र मागिरहेछु जीवन्त न्यायको
एउटा नयाँ र सग्लो रुप !
हे ईश्वर महोदय
अब, तिम्रो अदालतमा नारीको छुट्टै इजलास होस्
नारी कानुनको पृथक् व्यवस्थापन गरियोस्
नारीले आफ्नो अपराधीलाई आफैँले सजायको फरमान जारी गर्न पाउने शालीन प्रावधान होस्
जहाँ
नैतिकताको डन्डा देखाउँदै
‘अर्डर अर्डर’ गर्ने कोही न्यायाधीश नहोस्
गीतामा हात राख्न लगाएर झुटा कसम खुवाउने
कोही वकिल नहोस्
र पैसाको आडमा खरीद बिक्री भएर
सृजना गरिएका झुटा प्रमाणहरू
कठघरामा उभिएर कथिएका कुनै काल्पनिक कथा सुनाउने गवाही नहोस्
न त समाजका लाटा र बहिराहरूको उपस्थिति नै होस्
न भन्ने कोही होस्, न त सुन्ने नै कोही
होस् त केवल शिकार
र शिकारीको उपस्थिति !
सिराहा, नेपाल
हाल: बेलायत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।