घामका धारिला किरण
कैयौँ प्रकाशवर्ष पार गर्दै
अनन्त रूपले निसाना पारेर
अन्तरिक्ष अनि वायुमण्डल छिचोल्दै
सिधै मेरा बाको थाप्लोमा आएर ठोकिन्छ
र एकैछिनको घर्षणपछि
निधारमा देखा पर्छन नारायणीका मूलहरू
उर्लँदै गति लिन्छन अविरल रूपमा
अनि मयल मुछेर बनेको लुँडोहरूद्वारा निर्मित ड्यामहरू
एकै वेगमा भत्किनछन, बग्छन् ।
लगत्तै फिस्स गरेर देखाउने गर्छन् मेरा बा
बिहानीपख टल्केका पहेँला माछापुछ्रेहरू जस्तै
सुर्ती च्यापेका ती दन्त लहरहरू
धेरै जसो म सुत्ने बेलामा
मेरा गाला मुसार्न तल्लिन हुने
छिप्पेको घिरौँलाको जालो जस्तो
खस्रो न खस्रो मेरा बाका हातहरू,
लगत्तै म मन-मनै नाप्छु बित्ता ती पञ्जाहरूमा
अचानक सम्झिन्छु र भन्छु,
ओ बुर्जखलिफाहरू,ओ टुइन टावरहरू,
तिमीहरू त मेरा बाका बित्ता भन्दा
धेरै साना रैछौ, होचा रैछौ ।
ती हत्केलामै उठेका ठेलाका लहरहरू
सगरमाथा अटाएको महालङुर शृंखलाहरू पनि
निकै छोटा-छोटा लाग्दछन्
र सोचमग्न हुन्छु,
मेरा बाका ठेलाका उचाइ
कति मिटरले बढी रैछ सगरमाथाभन्दा ?
शताब्दीदेखि जलपान गर्न नपाई
हरियालीसँग सम्बन्ध बिच्छेद गर्न बाध्य भई चिरिएर बसेका
अथाह बाँझा जमिनलाई त्यसको औकात सोध्छु ..
जब म मेरा बाका मेटिँदै गरेका हस्तरेखाहरू र
चिरिँदै गरेका गोडाका पैतलाहरू देख्छु,
“ओेए ! सुन त ,मेरा बा कहिल्यै रोएको देखेको छस ,”
त्यो घाउको पीडाले ?
सूर्यको लाभा ,चन्द्रको ठण्डी महसुस गर्दै
कहिलेकाहीँ फेरि उनीहरूसँग प्रश्न गर्छु,
म कुनै दिन गर्मी र जाडो भन्दै छट्पट्टिएँ ?
लगत्तै परिदृश्यमा टुप्लुक्क बाका आकृति देखा पर्छन्,
दिव्य छाहरी बनेर
र उनीहरू मौन बस्न बाध्य हुन्छन् ..
जब आकाशको बोझ थाम्न नसकेर रुँदै
बेला-बेलामा पहिरो गइरहने ,स्व-स्खलित भैरहने
ती सम्पूर्ण पहाडहरूलाई पुन: प्रश्न गर्छु ,
“सारा ब्रहमाण्ड नै बोकेर हिँड्ने मेरा बा
ढाड दुख्यो भन्दै कहिल्यै कराए?”
फेरि लाजले उनीहरू मौन बस्न बाध्य हुन्छन् ।
त्यो उच्छृङ्खल वायु अचानक वेगले कैयौँ
प्राणीको उठिबास लगाउँछ,
पीडा पोख्ने निहुमा,
र म फेरि पनि प्रश्न गर्छु,
“के मेरा बा कहिल्यै श्वास फेर्न नसक्दा
स्या- स्या गर्दै छट्पट्टिए ?”
उनीहरूको बोली पनि फुट्दैन ।
सिमाको पनि नि सिमा हुन्छ ,निश्चित परिधि हुन्छ ,
त्यसैले मैले पीडा नाप्ने यन्त्र बनाएको छु
जसबाट म मेरा बाले खपिरहेका पीडा र
चीत्कार सुन्न अनि महसुस गर्न सकुँ
यदि त्यो मापक यन्त्रमा रातो बत्ती बल्यो भने,
सम्झिनेछु ,त्यो हद पार भएको मानिनेछ,
संघर्षको परिधि ।
र यसको मतलब यो हुनेछ कि;
मेरा बा पनि अब रुनु पर्छ,
चिच्याउनु पर्छ, कराउनु पर्छ ।
नतिजा रातो बत्ती बल्यो
र म आग्रह गर्दैछु मेरा बाबुलाई,
“ए बा ! सुनन ,
तिमी अब त रोऊ न गाठेँ
चिच्याउन,भक्कनिएर कराउ न ,आरामको माग गर न..
बिन्ती ,घोप्टो पर्दै पिल्सिएर बसेको चीत्कार निकालन”
म महसुस गर्न चाहन्छु तिम्रो पीडा,
सुन्न चाहन्छु तिम्रो वेदना,
तिमीसँगै दुख्न चाहन्छु म पनि ।
तर पनि उनी रुँदैनन्
कराउँदैनन्
हात फैलाउँदैनन्
उनी अझै मान्दैनन्
अहँ,कत्ति पनि मन्दैनन्,
उनी घमण्डी छन्
किनकि उनी बा हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।