साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फलानो बिक

Chovar Blues Mobile Size

 

फोटोग्राफरले
‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म
पत्रकारले
गतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ

कथाकारले
गज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म
कविले
लजावाब बिम्ब भेट्ने प्रतिमा पनि मै हुँ

तपाईंलाई लाग्ला
म कलात्मक मूर्ति हुँ कुनै मूर्तिकारको
म अलौकिक कृति हुँ कुनै कलाकरको
म सबसे सुन्दर सृजना हुँ प्रकृतिको
म अनन्त तिर्सना हुँ पारखीको


आकाश हुँ, इन्द्रेणी हुँ
चरा हुँ, नदी हुँ
समय हुँ, पर्व हुँ
साथी हुँ, खुसी हुँ
फूल हुँ, प्रेम हुँ
आस्था हुँ, ईश्वर हुँ

तर पर्खिनुस्
म केही हैन
म कैलै केही हुनै सक्दिनँ
तपाईंको सभ्य समाजमा
म मान्छे पनि हैन !

sagarmani mobile size

मेरो परिचय
नामः फलानो बिक
उमेरः आजन्म
ठेगानाः समाज बाहिर
कसुरः प्रेम र अधिकार
नियतिः लाश

 

 

प्रतिक्रिया
Loading...