हे ! मुर्धन्य श्रष्टा
म तिम्रो शोक मनाउँदिन
म तिमीलाई श्रद्धाञ्जली पनि दिन्न
किन ?
किनकी तिमी मरेका छौँ जस्तो
मलाइ लाग्दैन ।
तिमी बाँचिरहेछौ शब्दहरूमा
तिमी बाँचिरहेछौ हृदयमा
तिमी बाँचिरहेछौ पवनमा
तिमी बाँच्नै रहने छौ कण कणमा ।
तिमीले सुतिरहेका मान्छेहरूलाई
“जाग, लम्क, चम्क हे नौजवान हो ।”
भनेको पनि
धेरै समय भएको छैन ।
म भर्खरै जाग्दै थिएँ
म भर्खरै सिक्दै थिएँ
तर जागेको थिइनँ
सिकिसकेको थिइनँ
त्यसैले नयाँ केही भएको छैन
यहाँ न कुनै परिवर्तन भएको छ ।
त्यसैकारण हे ! सर्जक
म तिम्रो शोक मनाउन चाहन्न
अझै तिम्रो खाँचो थियो
तिमीले हेर्नू थियो
यो देश सिङ्गारिएको छैन
सीमा जोगिएको छैन
हिंसा बलात्कार रोकिएको छैन
जात, धर्म, वर्ग मेटिएको छैन
कोही युवाहरू जन्मिएकै छैनन्
जसले कायापलट गर्न सकुन यो धरतीको ।
माटोले बनेको शरीर
माटोमा मिलेको मात्र हो ।
बरू म उत्सव मनाउँछु
नयाँ जीवन प्रवेशका लागि
फूल चढाउँछु
शुभकामना व्यक्त गर्दछु ।
तिमी यात्रा गरिरहनेछौ
अनन्तदेखि अनन्तसम्म
जसरी जन्म एक सुरुवात थियो
मृत्यु अर्को सुरुवात हो ।
तिम्रो शोक मनाउँदिन
तिमी बाँचिरहेका छौ शब्दहरूमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

