पूर्णेको रातमा

आकासमा मुस्कुराइरहेको जून हेरेर

एक जना प्रेमीले अफ्नो प्रेमिकालाई जूनको उपमा दिन्छ ।

चुम्बन लिन्छ ।

दिन्छ ।

छेउमा उभिरहेको एउटा कुकुरलाई

त्यतिखेर मानिसको जुनिसित लोभ लागेर आउँछ ।

अलिकमाथि

डाँडामा गएर हेर्दा त्यसलाई जून अझै राम्रो लाग्छ ।

एकप्रकारले चित्त दुखेर आउँछ र आकासतिर मुन्टो बटारेर भुकिरहन्छ ।

रातभरि जूनलाई सोधिरहन्छ—

“के तिमीले मेरो लुतोमा मलम लगाउन सक्छौ ?

निको पार्न सक्छौ ?”

 

जून

उत्तर भएर शीतै-शीत कोरिरहन्छ

डाँडाभरि छरिएका रूखका पातहरूमा ।

 

भोलि बिहानीपख

अफूभित्र एउटा घमण्ड जागेर आउँछ—

युद्ध पूरा नभई जून आकासबाट ओझेल भएको भ्रममा ।

बिहानीको कठ्याङ्ग्रिने जाडोमा पनि

त्यसलाई आफ्नो लुतो चिलाएको नै तातो लाग्छ ।

जति कनायो

उति चिलाउने सन्चो र आनन्दको सिमानै छैन ।

तर त्यसरी कनाउँदा-कनाउँदै

त्यसलाई एकप्रकारको रिस उठेर आउँछ

र त्यहाँबाट फटाफट गल्लीमा गएर

एउटा दिशा बस्न निस्किएको कुकुरलाई आक्रमण गर्छ ।

त्यसको मालिकलाई चेतावनी दिन्छ—

“अबदेखि तिमीले आकासमा जून कहिल्यै नहेर्नू ।

आफ्नो प्रेमिकालाई चुम्बन पनि नगर्नू ।

तिम्रो जून,

आज बिहान मसित हारेको छ

अनि तिम्रो विदेशी टमीले अबदेखि मलाई

तिम्रो घरको ढोकाबाट नभुकोस् ।”

 

फेरि कुनै एउटा रात

जून आकासमा आधा भएर आएको छ ।

जून टुक्रिएर आधा कतै झरेछ भन्ने अनुमानमा

त्यो डाँडाबाट ओरालै-ओरालो लग्छ ।

अन्त्यमा एउटा बेथेस्डाको पोखरीमा आइपुगेर ठप्प रोकिन्छ ।

पक्रनलाई पानीमा कैयौँपल्ट हामफाल्छ

तर सक्दैन ।

 

बिहान

पुन: उकालै-उकालो फर्किन्छ—

जूनलाई डाँडाबाट ललकार्नलाई,

अबदेखि त्यसरी छल नगर्नु भन्नलाई ।

तर फेरि अर्को रात

जून

अझै टुक्रिएर आकासबाट त्यसलाई नै जिस्काइरहेछ ।

त्यो रातभरि डाँडामा चुइँकिँदै, मुरमुरिँदै अनि भुक्दै

एउटा अतृप्त आक्रोश देखाइरहन्छ ।