जलस्रोतको यो स्वर्णीम आँगनमा
म किन उज्यालो हुन सकिनँ
हिमालको संगत गरेर पनि
म किन अग्लो हुन सकिनँ
संसारले नै मान्यो बुद्धलाई
र, देउता बनायो
तर तिनै बुद्धको सन्तान म
आफैँ ज्ञानी हुन किन सकिनँ ।

प्रश्नहरूले घेरेका छन् चारैतिरबाट
प्रश्नहरूले घोचेका छन् चारैतिरबाट
प्रश्नै प्रश्नको बीचमा उभिएर
आफैँ एउटा अनुत्तरित प्रश्न बनेको छु
आफैँले आफैँलाई चिन्न नसक्दा
म भिल्लको देशमा मणि भएको छु ।

माटोले सबै कुरा दिएको छ
तर बाटोले हामीलाई कतै पुर्याएन
धर्मले हामीलाई महान् बनायो
तर कर्मले कतै फुक्नै दिएन
गौरवले बनायो विश्व प्रसिद्ध
तर पौरखले कतै पुग्नै दिएन ।

आमाकै छाती चुसेर हुर्केपछि त
अलिकति माया त हुनुपर्ने हो
धर्तीकै अन्न खाएपछि त
अलिकति इमान पनि हुनुपर्ने हो
दुई खुट्टेको हुल त जुलुसमा पनि देखेकै हो
अब त अलिकति मान्छे पनि हुनुपर्ने हो
यो देशलाई रुवाएर अट्टहास गर्नेहरूलाई
के अब पनि नमस्कार नै भन्नुपर्ने हो ?

एक रात बास बसेको
पाटीको पनि माया हुन्छ
एक छिन सियाँल तापेको
अपरिचित रूखको पनि त माया हुन्छ
पुर्खाको रगत पोखिएको यो भूमिमा
के तिमी तिनकै सन्तानजस्तै छौ ?
जसलाई खोस्रेर अडेको छ तिम्रो जीवन
के तिमी साँच्चै नै मान्छे जस्तै छौ ?

अत्यास लाग्दैछ आफैँलाई
म किन यति होचो भएँ ?
आमाको काखमा खेल्दा खेल्दै
म किन टुहुरो जस्तै भएँ ?
र, आफैंँ बसेको घरभित्रै
म कता विस्थापित भएँ ?

म सुस्त भएँ कि सुस्ता भएँ ?
हिजोको म नालापानी
आज कसरी कालापानी भएँ ?
यो स्वर्गमा जन्मेर पनि
म कसरी विचलित भएँ ?
संसारकै सबैभन्दा अग्लोको संगत गरेर पनि
म आज कसरी यति होँचो भएँ ?