शीतका थोपालाई उत्तापको सान्त्वना दिँदै
उकुसमुकुस भावना बोकेर फागुन आउँदो छ।

आफन्तबाट बिछोडिने पीडाले दग्ध
पात-पतिङ्गरलाई जन्म-मृत्युको पाठ पढाउँदै
सहजात रूपले छुट्टिन प्रोत्साहन दिन
भूमिमा पात-पतिङ्गरको बिस्कुन सुकाउन
फागुनको आगमन यो धरतीमा पुन:पुन:।

मनभरि बिछोडको वेदना बोकेर
इष्ट-मित्रबाट सदाका लागि
बिदा माग्दै, आउने साल फर्किआउने
वाचा गर्दै जाँदो छ फागुन।

फागुन, प्यारो फागुन
बदनाम फागुन, धूले फागुन।

फागुन केवल एउटा महिना होइन
फागुन जीवन हो, जीवन दर्शन हो।
फागुनले जीवनवोधको पाठ पढाउँछ
फागुनले ‘जातस्यही ध्रुवो मृत्यु’को भान गराउँछ।

रूखमुनि बग्रेल्ती झरेका पात
यत्रतत्र काठो लागेका पतिङ्गरले
हामीलाई जन्म-मृत्युको परमार्थ सिकाउँछ।

फागुने फिरफिरे हावाले
चारैतिर धूँवालो पार्दो छ
उराठिलो मन र रूक्षता झेल्दा
फागुने मौसममा हामीलाई जीवन र धूलो
एकार्काका परिपूरक भन्ने याद दिलाउँछ।

सिमल र फलेदाको लालीले
आकाश धपक्क बलेको बेला
सिमल र फलेदाको रसपान गर्न
वर्षदिन पर्खिबसेका पक्षीकुलले
हो-हल्ला गर्दा रमाएको पल
सायद फागुनको विशिष्टता हुन पुग्दछ।

जीवन छ भनेर नै मृत्युको मोल छ
मृत्यु निश्चित जानेर नै जीवन धानिन्छ
फागुनले हामीलाई जीवन-मृत्युको श्वास्वत ज्ञान दिलाउँछ।
फागुनको बिदाले वसन्तलाई स्वागत गर्दछ
फागुन छँदा वसन्त कहिलै आउँदैन।
फागुने उत्ताउलो बतासले
सुकेका पातलाई रूखबाट बिदा दिन्छ
फागुनको रूक्षताले मृत्युमुखीलाई
सुखनिद्राको शय्या दान दिन्छ
पुरानाको बिदा, नयाँको जन्म हो।

मनभरि आशाको कोसेली बोकेर
नयाँ पालुवा पलाउने छन्
मुना-कोपिला बग्रेल्ती पलाउने छन्
नयाँ आशा, नयाँ चेतनाको कुम्लो बोकेर
अनुहारभरि जीउने रहर पोतेर वसन्त आउने छ
फागुनको बिदामा प्रत्येक साल..।

(समारदलनी, सोटिया, विश्वनाथ, असम)