दीपेन्द्र अरुण

दीपेन्द्र अरूण

मेरो कुनै परिचय छैन
बस्
म लेखिन्छु कागजका धर्साहरूमा
बोलिन्छु सङ्गीतका धुन र बाजाहरूमा
कहिले पढिन्छु धर्मग्रन्थका पानाहरूमा

अनि
कोरिन्छु, मेटिन्छु, सजाइन्छु क्यानभासहरूमा
जबरजस्ती झुन्ड्याइन्छु विज्ञापनका बोर्डहरूमा
कहिले च्यात्तिएर, कहिले मेटिएर अस्तित्व गुम्छ
कुनै शोषित नारीसरह
कुनै निहत्था/दुर्बल पुरुषसरह
अस्तित्व गुम्नु भनेको लुटिनु मात्र रहेनछ
आफैँलाई धेरै व्याख्या गरिनु पनि लुटिनु रहेछ।

कसले बनाउँछन् होला यी कुविचारित मान्तुहरू ?
जो अक्षरलाई चिन्दैनन्
जो अक्षरले अभक्त छन्, पिपाशु छन्
के यिनीहरूलाई ईश्वरले नै बनाएका हुन र ?
जो निचोर्न /चेप्न खप्पिस छन्
अक्षर नचिन्नु भनेको भलाद्मी नहुनु होइन
अक्षर नचिन्नु भनेको मानवता नहुनु रहेछ।

मानिसहरू भन्छन् : हामी अक्षर बनाउछौँ
अक्षर भन्छ: मानिसहरूलाई मानिस त अक्षरले बनाउँछ।

पोखरा