टंक पन्थ

हाम्रो धर्ती अनुपम छटा कान्तिमा खुल्छ गाढा
गाथा गाई अविरल गला शान्तिमा घुल्छ ज्यादा
पुर्खा हाम्रा विजय पथमा मुस्कुराई बढेथे
नेपालीको परिचय दिई जुर्मराई लडेथे ।

भाका बन्छन् मृदुल लयका दृश्य राम्रा हजार
कोरी बाट्छन् सकल दिलले सिर्जनाका सितारा
आशा भर्ने अगम छ चुली छुन्छ आकाश आज
हेर्दाहेर्दै जब गगनमा चढ्छ स्वर्गीय ताज ।

घुम्दै गर्छन् रनवन यता सम्झनाका तरेली
आँखा तान्ने हरित गिरि छन् झिम्म हुन्नन् परेली
फल्छन् भिन्नै समय लयमा मौसमी स्वाद दिन्छन्
साँच्चै भेट्यौँ अमर अलका झल्झली याद दिन्छन् ।

रङ्गीचङ्गी पहिरन लिई दिव्य खुल्छन् वसन्त
लठ्ठै पार्छन् मधुरस पिई भव्य लाग्छन् अनन्त
ईष्र्या फाली ऋषिमुनि यहीँ ध्यानमा मुस्कुराए
ऊर्जा बाली विधिप्रविधिका ज्ञानमा खुल्न आए ।।

बास्ना चल्छन् वरपर यहाँ मस्त डुल्छौँ रमेर
मातै लाग्दो महक तगडा मख्ख पर्छौँ झुमेर
कावा खाई वन चहुरमा लेट्नुमा सार हुन्छ
आफै चल्ने लय समयको भेट्नुमा सार हुन्छ ।।

वाचा हाम्रो कबुल छ यहाँ बढ्नुको अर्थ खोजौँ
माथा हाम्रो सबल छ यहाँ चढ्नुको अर्थ खोजौँ
छाया पायौँ अगणित यहाँ हर्घडी लक्ष्य जोडौँ
जन्म्यौँ हामी कुन नियमले जिन्दगी अर्थ खोजौँ ।।

छन्दः मन्दाक्रान्ता