गोपाल कृष्ण डंगोल

 

 

गोपाल कृष्ण डंगोल

मान्छे जति सबै स्वार्थी है पाएँ मैले,
पश्चाताप गरेर काम छैन ऐले ।

आफूलाई निरीह मानी साथ माग्छ,
काम बनेपछि उ पर-पर भाग्छ ।

नपाउँदा तल पाएसी हात माथि,
यस्तै हुँदो रैछ स्वार्थी चलन साथी ।

सापटी माग्दा हात तल हुन्छ जसै,
पाएसी दम्भ बढ्छ निहुँ खोज्छ तसै ।

भोलिभोलि भन्छ भोलि कैले आउँछ ?
अझ ऊ भन्छ यो मान्छे कत्ती धाउँछ ?

माग्नु हुन्न आफ्नै पैसा मुन्टो बटार्छ,
उस्तै परे छिर्की हानी फेरि पछार्छ ।

वर्षैँवर्ष भो थाकिसकेँ माग्दा माग्दा,
चप्पल फाटिसके भाका नाघ्दा नाघ्दा ।

आशै मार्नु बाहेक अब केही छैन,
निद्रा लाग्न छोड्यो छैन मनमा चैन ।

मरिन्छ कि आफैँले कमाको नभोगी,
मेहनत म गरुँ अनि मैँ बनूँ जोगी !

आफैँलाई पो लाज लाग्ने माग्ने काम,
स्वार्थी सधैँ गर्छन् यस्तै छलछाम !

मान्छे जति सबै स्वार्थी है पाएँ मैले,
पश्चाताप गरेर काम छैन ऐले ।

महाराजगञ्ज, काठमाडौँ
हालः इटहरी, सुनसरी