सावित्री चौधरी

 

सावित्री चौधरी

तिम्रो पनि त मन छ ।
कोमल गुलाफ जस्तो नाजुक मन
प्याट्ट फुटी जाने शिशाको मन ।

मौसमको प्रतिकूलतामा कसरी नुहिरहेको हुन्छ
काँडा र हाँगा समाउदै कसरी आँसु झारिरहेको हुन्छ ।

बग्न देऊ केही थोपा शीतहरू
झर्न देऊ केही फूल र पातहरू
जीवन भोगाइका केही अनुभूतिहरू हुन्
जो, मै सँग हाँस्छन मै सँग रून्छन् ।

युगौं युगदेखिको पीडा आफैभित्र हजारौं गाँठो पारेर
पर्वतहरू अग्लिरहेका छन् कसैलाई केही नभनी
तिमी बन्दै छौ, बनाइदै छौ बाटुलो कालो ढुंगा
ए पुरूष मान्छे यस्तै कठोर बन्नु है !

जस्तै बज्रपातले मुटु क्षतबिक्षत भएपनि
जस्तै प्रलयले संसार सारा तहस-नहस भएपनि
बियोगी बिलौनामा टुटेर तिमी नरूनु है !

शिशा त फुटेर जान्छ एक झट्कामा
पीडामा जमेको तिम्रो मन ढुंगा जस्तो पो कठोर हुनुपर्छ
करूणा र भावनाको भेलमा बग्नु हुन्न है
तिमी लोग्ने मान्छे भएर रूनु हुन्न है
सुहाउँदैन रोएको, तिमी रूनु हुन्न है !

जसरी, म चोट र ब्यथाको मुर्च्छनाले रोइरहेको हुन्छु
प्रताडित हुन्छु , टुट्छु, फुट्छु साउन-भदौको अाकाश बग्छु
किनभने रूनु त आइमाई मान्छेको काम हो
सहनशीला- सुशीला हुनु आइमाई मान्छेको अर्को नाम हो ।

कति रहर हुँदो हो है मनको मयल पखालेर धरधरी रून
कति रहर हुँदो हो है आकाशमा इन्द्रेणी रंग बनेर भरभरी हुन् ।

मैले यत्रो युगपछि
तिमीलाई नबुझेर बुझेको रहेछु
तिमीलाई बुझेर नबुझेको रहेछु
सहयात्राको त्यत्रो युगान्तकारी साझा पीडा हुँदाहुँदै पनि
कहाँ चुकेको रहेछु तिम्रो मानवीय सम्वेदना बुझ्न ?
मैले खाली आफ्नै मात्र अन्याय, ज्यादती, लैंगिक विभेद र हकहितको कुरा गरेँ ।

सहनशील हुनु भनियो – अनि बंचित गरियो
बंचितको तमाम घेराबन्दीले महसुुस भएको छ मलाई
तिमीलाई पनि ज्यादती र हकबाट बंचित गराइएको रहेछ
अब, धोको फेरेर रूनु है ।