विमल बस्याल

विमल बस्याल

केही पाइला चाल्दै
अगाडि बढ्न खोज्छु म
फेरि धकेलिन्छु पछाडि पारिन्छु
युगको बन्धनबाट
छैन म माथिको धृष्टताको हरहिसाब
मात्र पेलिन्छु जसरी कोलमा
तोरीलाई निचोरिन्छ र निकालिन्छ रक्तरुपी तेल
त्यसरी नै मेरो पूर्वजको लुटिएको छ
जवानी र परिश्रम
नराखेको हिसाबको बहिखाता नै
भरिएको छ हाम्रो नाउँ र श्रमले
तैपनि दैनन्दिन बनाइन्छु
सत्ता र ठालुतन्त्रको चड्ने भर्याङ
शक्ति र सामर्थ्यको भर्याङ
छैन युगदेखिको बहिखाता
जलन र पीडन हामी माथिको
अस्तित्व शुरुआतको प्रारब्धदेखि
सँगै थियौँ हामी
तर आज समयको खेलाले हामीलाई
बनाइदियो एक नदी दुई किनारा
र कोसौँ टाढा विभक्त पारियौँ
आज हाम्रो नाउँ इतिहासको गर्तमै बिलायो
विजित तिमी इतिहासले सराहना गर्यो
गुणगाण गायो
पछुवा हामी तिम्रो झुटो पराक्रमसँगै बिलायौँ
इतिहास लेखनदासले समेत विजेताको नाउँ लेखेर
तमाम पछुवाको अपमान गर्यो
आज तिमी जत्तिकै सक्षम छौ
तिम्रो स्तुतिगान गाउने इतिहासलाई
धावा बोल्न
के न्यायको कसीमा राखेर तौलने
स्वाभिमान छ तिम्रो सन्ततिसँग ?
इतिहासले थोपरेको तमाम अन्यायमाथि
समानताले तौलने छ सामर्थ्य ?
छ तिम्रो आँट भने
आऊ तौल हाम्रो र तिम्रो जुगदेखिको पराक्रम
र मेटाइदेऊ असमानताको खाडल
बताइदेऊ जगतलाई
जुगदेखि आजसम्मन यस सभ्यतासम्म आइपुग्न
बजारिएको छ उसको पनि पाखुरी
उसले पनि देखाएको छ पराक्रम
गरेको छ त्याग र तपस्या
अनि हामी गाउँला समानता र भातृत्वको गीत
जसले बनाउने छ जगत गुन्जायमान ।