कवि : उदय प्रकाश
अनुवादको : जनक कार्की

उदय प्रकाश

एउटा नारीले पर्सबाट खुजुरा पैसा निकालेर कन्डक्टर सँग घर जाने टिकट लिदै छिन्
केही घण्टा पहिले उनको बलात्कार भएको छ।

त्यहीँ बसमा अर्को नारी आफ्नै उमेरका लाचार नारीसँग महंगाईको विषयमा कुरा गर्दै छन्
उनको कार्यालयको निरिक्षकले आज पनि मेमो पठाएको छ।
*****
त्यो नारी जसले सुखद दाम्पत्य जीवनको लागि निर्जल उपवास बसेकी छिन्।
– सासुले उनको हत्या गर्छिन भन्ने मनमा त्रास छ
-निन्द्रामै चिच्याउने गर्छिन।

****

एउटा अर्को नारी मध्यरातमा बाल्कोनीमा उभिएर आफ्नो जड्याहा श्रीमानको प्रतीक्षा गर्दै छिन्
जो घर फर्किदै छ ,आफू जस्तै कुनै विवस र असुरक्षित नारीको घरबाट।

*****

सन्देह असुरक्षा र डरले काटिन भन्दा पहिले
मिहिन अवाजमा प्रश्न गर्छिन
कहाँ खर्च हुन्छ आधा भन्दा बढी तलब?

***

एक नारी बच्चालाई नुहाउदै गर्दा
रुन थाल्छिन बेस्सरी
र लगातार बच्चालाई चुम्न थाल्छिन्
सायद बच्चामा देख्छिन्
भविष्यको गुफा र शरण।

****

एउटा नारीको हात जलेको छ
अर्को नारीको हातमा उम्लिएको पानी पोखिएको छ
अस्पतालमा हजार प्रतिशत जलेका महिलाको बयान लिइन्छ कि उनीहरू आफ्नै गल्तीले जलेका हुन्।
उनीहरू बाहेक सबै निर्दोष छन्
गल्तीले उसैको भाग्य फुटेको थियो- र पड्किएको थियो- स्टभ।
******

एउटा नारीको नाकबाट बगिरहेको छ – रगत
पुछ्दै भन्छिन: कसम खान्छु, मेरो अतितमा कतै थिएन प्रेम,त्यहाँ थियो पवित्र शताब्दी लामो आगो जस्तै एक्लोपन
जहाँ पाक्दै थियो; तपाईको लागि मेरो देह।

*****

एउटा नारीको अनुहार सिंगमरमरको ढुङ्गा जस्तै सेतो छ
सायद उनले आफ्नो गहना हराएकी हुन् वा आफ्नो दुख कसैमाथी पोखिन्

सिलिङ्गको अंकुसमा बाध्दै छिन् – पछयौरा
उनको प्रेमीले सार्वजनिक गरेको छ; फोटो र प्रेमपत्र
**

-एउटा नारी फोन समातेर रुन्छिन्
– एउटा नारी आफैसँग वार्तालाप गर्दै, कुनै हिस्टेरियामा बाहिर निक्किन्छन्

केहि नारी अस्तव्यस्त कपाल र पोशाकमा
बस स्टेसनमा, प्ल्याटफर्ममा
प्रश्न गर्दैछन्
कुन गाडीमा बस्ने हो?कहाँ जाने हो यो संसारमा?
*

एउटा नारी आजित भएर भन्छिन्
तिमी जे मनलाग्छ गर तर मलाई बाँच्न देउ

***
एउटा नारी सहरको पार्कमा मृत अवस्थामा भेटिएकी छिन्।
उसको लासको छेउमा रोइरहेको छ बच्चा
उनको झोलामा भेटिन्छ; दुधको खाली बोतल,गिलास र एउटा रातो खेलौना बल – जसलाई हल्लाउदा, अझै पनि झिनझिन् सगींतको अवाज आउँछ
*****
एउटा नारी तेजाबले जलेकी छिन्
खुसी यस अर्थमा छिन किनभने उनको दाहिने आँखा सुरक्षित छ।

**
एउटा नारी तन्दुरमा जल्दै गर्दा
आफ्नो हातका औलाहरू बिस्तारै हल्लाउछिन बाहिरको अँध्यारो नाप्न।
– एउटा भुइँ पुस्दै छिन
-एउटा भाडा माझ्दै छिन्
-एउटा कपडा झटार्दै
– एउटा सडक छेउमा बच्चालाई सुताएर गिट्टी कुटदै छिन्।
– एउटा नारी भुइँ सफा गर्दै , राष्ट्रिय च्यानलमा फेसन शो हेर्दै छिन्
– एउटा नारी समाचार पढ्दैछिन्; संसदमा नारीको सिट बढ्दैछ।

एउटा नारीको कलेजो बोरा बाहिर खसेको छ
कलेजो भन्दैछ; मलाई कुनै नालीमा फालेर छिट्टै घर फर्किनु
-केटाकेटीलाई विद्यालय पठाउनुपर्छ, नास्ता खुवाएर पठाउनु- पिठो त मुछेर राखेकी थिएँ।

******
गर्भको दुनियाँमा लाखौ लुकेका छन; यस दुनियाँमा जन्म लिन अस्वीकार गर्दै
तर त्यहाँ पनि खोजिन्छ उनीहरूलाई ध्वनी तरङ्गको माध्यमबाट र हत्या गर्न निक्लन्छ धारिलो पत्ती।

राजधानीको प्रहरी चौकीमा
एक-अर्कलाई स्पर्श गरेर चुपचाप जमिनमा बसिरहेका छन दुई नारी
तर सारा दुनियाँमा गुन्जिएको छ
उनीहरूको हाहाकार र चीत्कार।