भान सिंह धामी

भान सिंह धामी

विश्वमा एउटा देश छ
प्रकृति र संस्कृतिले विशेष छ
उसको आफ्नै धरहरा छ
भूगोल हराभरा छ
जहाँ छहरा र पहरा आफ्नै सहरामा
बाँचिरहेका छन् सदियौँदेखि
जनताले कर्मक्षेत्रमा जुटौँ भनिरहँदा
नेताले विश्वभरिबाट माग्न उठौँ भनेको सुन्दा
अचम्म लाग्छ
मानौँ, मागेको धन ढुकुटीमा टम्म लाग्छ ।

नमागेर राजनीति नहुँदा
आवश्यक परेछन् क्यारे ! व्याख्यात्मक बुँदा
विदेशपरस्त नेतृत्वको प्रहसन
चलिरहन्छ बेला बेला
माटोले मुर्छा परेको बेला स्वर्गले सम्झेला
र भन्ला –
खबरदार ! यहाँ तिम्रालागि ठाउँ छैन ।

बाँड्नेको देश बनाउनुको सट्टा
देश बनाउन नसक्ने
ओरालो लागेको सत्ताले माग्नुपर्ने हुन्छ
ढिलोचाँडो सुइकुच्चा ठोकेर भाग्नुपर्ने हुन्छ
नपत्याए पढ्नुहोस् अफगानिस्तान
जहाँको सत्ता र सातपुस्ता आमा छोडेर सुटुक्क भाग्यो ।

माग्नेको देश बनाउन पनि
बढीभन्दा बढी देऊ भनेर माग्छन् भने
देश हुनु र नहुनुको अर्थ रहन्न
अनि पो ! जनता उठ्छ
माटोको रक्षा गर्न
ढाल बनेर
अविरल आगो बनेर ।
*****

सिगास-२, बैतडी