मलाई आफ्नै हातले सुम्सुम्याउनु छ
यो युगले मेरो सभ्यतामाथि हानेका निलडामहरूलाई ।

मलाई जान्नुछ कसरी बाँच्छ मान्छे
अर्कोले निरन्तर अठ्याइरहँदा पनि आफ्नो घाँटीमा

कुन जाँगरले पनि मुस्कुराइरहन्छ होला
अपमानका हजार असिना आफ्नै थाप्लोमा थापेर

कुन यात्रामा निस्किएको हो ऊ?
हात खुट्टा भाँचेर
बाटो खोसेर, आँखा झिकेर कता धकेलिँदै छ ?
किन मौन छ यति डरलाग्दो ?

मलाई सिक्नु छ ।
कसरी प्यास मेट्नुपर्छ ज्वालामुखी पिएर
कसरी निदाउनुपर्छ निदरी बेचेर
कसरी थाप्नुपर्छ शिरको टोपी खोलेर
थपक्क यो शताब्दीको उपहास

मलाई महसुस गर्नु छ ।
कुन मुटुले रहेछ यति धेरै सहनशील बनाउने
कुन शिरा र धमनीले वितरण गर्दा रहेछन् बेरङ्गी रगत
कुन हड्डीले थामेको छ यो अत्याचारको पहाड
कुन पैतालाले छोडेको छ आफू हिलाम्मे हुँदाहुँदै
यति सुन्दर पदचाप
कुन हातले लेखेको छ यो समयले गाउन नसकेको उज्यालोको गीत ?

कुन प्रेमीको पर्खाइमा फुल्दो हो बाटोमुनिको फूल
कुन भक्तलाई पर्खिदो हो मन्दिरपछाडिको बुकी
कुन प्यासी भेट्न झर्दो हो कन्दराको छहरा ?

ओ समय !
म तेरो अभिजातको घण्ट घाँटीमा झुण्डाएर
मुर्दाहरूको सन्नाटा चिर्न सक्दिनँ

बरू मलाई उल्टो पारेर झुण्डाइदे
तेरो मैना होइन चमेरो नै सही
म कवि होइन
विक हुन चाहन्छु ।

शरद पोख्रेल

एउटा कविको उल्टो इच्छा