हजारौँ अवरोध माझ पनि
अघि बढ्ने ती पाइलाहरू
अनगिन्ती अपमानहरू झेल्दै
शिर उठाई हिँड्ने
ती अदम्य सहासहरू
उनलाई भन्छ्न्
तिमी नारी हौ
सृष्टि हौ
आमा हौ
जननी हौ
नमाग आफ्नो पहिचान अरुसँग
तिमी आफैँमा एक पहिचान हौ।
तिम्ले चढेका सिँढीहरू
तिमी गाडिएका धापहरू
ती तिम्रा हुन्, नितान्त तिम्रा।
तिम्ले कुल्चेका धुलाहरू
तिम्लाई बिझेका काँडाहरू
ती तिम्रा संघर्षका गाथा हुन्, केवल तिम्रा।
तिम्ले उठाएका भारीहरू
केवल तिम्रा थकान हुन्।
तिम्ले सोरेका गोबरहरू
केवल तिम्रा हत्केलाका वेदना हुन्।
त्यसैले त
तिम्रा विश्वासहरू भन्छन्
तिम्ले देखेको विश्व
तिम्ले चिनेको विश्व
अनि तिम्ले आफ्नो मानेको विश्व
सबैसँग सावधान रहनू
सतर्क रहनू
किनकि
यो त्यही विश्व हो
जहाँ तिम्रा पसिनाहरूले
तिमी बुँद बुँद भई
झरको देखेको छ
तिम्रा विश्वासहरूले
तिमी टुक्रा टुक्रा भई
चुँडिएको देखेको छ।
अनि तिम्रो सतीत्वले
तिमी पत्र पत्र भई
नांगिएको देखेको छ।
तिम्लाई अधिकार दिने नाममा
कोही तिम्रा ओठहरू सिलाउँछन्
तिम्लाई स्वतन्त्रताको मार्ग देखाउँदै
कोही खुट्टामा जंजीर भिड़ाउँछन्
कसैले मूल्य तोक्दै बेचे पनि
कसैले मूल्यहीन बनाई फ्याँके पनि
अर्थविहीन छैनन् तिम्रा श्रमहरू
तिमी परिश्रमको धरातल हौ
बेमूल्य छैनन तिम्रा योगदानहरू
तिमी आफैँमा एक अमूल्य रत्न हौ
त्यसैले त
तिम्रा बलवान् मनोबलहरू
तिम्लाई भन्ने गर्छन्
तिमी जीवनदाता हौ
तिमी जीवन संगिनी हौ
तिमी पवित्र कुमारी हौ
तिमी उग्रचण्डी देवी हौ
नठान निर्बल आफूलाई
तिमी आफैँमा एक साहरा हौ
तिमी सपना हौ
तिमी कल्पना हौ
तिमी उमङ्ग हौ
तिमी उत्साह हौ
तिमी राप हौ
तिमी ताप हौ
तिमी आँधी हौ
तिमी तुफान हौ
प्रकृतिका हर रूप हौ तिमी
कसैले कोर्न पर्दैन तिम्रो भूगोल
तिमी आफैँ एक विशाल धर्ती हौ
नखोज आफ्नो पहिचान अरुमा
तिमी आफैँमा एक पहिचान हौ
तिमी एक नारी हौ।
अस्ट्रेलिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।