फर्सुराम पौडेल

फर्सुराम पौडेल

काँधमा कर्तव्य बोकेर
मस्तिष्कमा बोकेर सपना
मनमा उत्कट इच्छा बोकेर
सुदूरबाट उज्यालो खोज्न उक्लिएको हो ऊ यहाँसम्म
अङ्गालेर जिम्मेवारीको पहाड ।

कलिला पैतालाले टेकाउँदै कदम धर्तिमा
हिँडेको हो कठिन सगर
थुप्रै पटक लडेपछि पनि
आफैँले खनेको हो फेरि
आत्मबलका मजबुत खुड्किला
ठोक्किएपछि निर्जन सडकहरुमा
धुलो पुछ्दै
चढेको हो कर्तव्यका कठिन सिँढीहरू
किनकि बुझेको छ उसले
‘लड्नु’ सिक्नु पनि त हो
‘खस्नु’ उभिनु पनि हो
त्यसैले त गति खोज्छ ऊ कर्महरूमा
जीवन खोज्छ आरोहहरूमा ।

अङ्गालेर जाग्रत स्वप्न
आँखामा भरेर दुरबिन्दु
होमेको हो सबै संघर्षका अवशेषहरूमा आफूलाई
चढाएको हो प्रार्थनाका अनेक अस्त्रहरू मन्दिरमा
भोगेको हो अभावका सबैखाले चरम कथाहरू
तर पनि हतोत्साही हुँदैन ऊ
किनकि उसले बुझेको छ
गतिको नियम चक्र
जगत र प्रकृति
अस्तित्व र जीवन
त्यसैले
अझै जुध्न चाहन्छ ऊ जीवनसँग
फेरि खडा गरेर अस्तित्वको खाडल
खस्न चाहन्छ ऊ आफ्नै पैतालाहरूबाट
र फेरि उठ्न चाहन्छ फरक उत्साहले
किनकि उसले बुझेको छ
गति नै त हो जीवन
रोकिनु त मृत्यु पो हो !