साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हो, मैले प्रेम गर्न जानिनँ

कविता

Chovar Blues Mobile Size

हे ! धर्ती हे ! आकाश हे ! मानव हे ! महामानव
मलाई सुन बिस्तारै सुन या जोडसँग सुन
तर सुन ! म एउटा हृदयको भाषा बोल्दै छु
व्याकरण नमिल्न सक्छ
अर्थको अनर्थ हुनसक्छ
तर यी केवल शब्दका अर्थ होइनन्
हृदयका झङ्कार हुन्
यी झुसिला डकार होइनन्
र यी कसैका अहङ्कार होइनन्
कसैका कविता पनि होइनन्
रमिता पनि होइनन्
यी त केवल प्रेमयुद्धका वार्ता र नजीर हुन्
जुन युगदेखि युगसम्म सङ्घर्ष गरिरहेछन्
अस्तित्वका निम्ति !
हो ! मैले प्रेम गर्न जानिनँ !
घर, परिवार, आफन्त शत्रु-मित्र
कसैले भनेको मानिनँ !
हे ! अधिकारकर्मी हो
हे ! धर्मी हो ! विधर्मी हो !
फगत मलाई क्रान्तिकारी बनाइयो
चट्टानै चट्टानले बनाइएको अभेद्य पर्खाल
निम्छरो प्रेमवायुले ढाल्न लगाइयो
हो ! मलाई आदर्शका चस्मा लगाइयो
स्वतन्त्रता र समानताका मीठा स्वरहरू सुनाइयो
मान्छे-मान्छेका रगत-पसिना उस्तै-उस्तै हुन्छ
भन्ने जबर्जस्त सिकाइयो
तर
ती फगत रहेछन्
मान्छेका जात हुँदा रहेछन्
भात हुँदा रहेछन्
दिनभन्दा ठूला रात हुँदारहेछन्
दिनमा सबैले सबैलाई उस्तै-उस्तै देखे पनि
कानून र कविले सबै समान हुन्छ भनेर लेखे पनि
रातले मान्दो रहेनछ
जातले मान्दो रहेनछ
अनि त भयङ्कर घटना घट्दारहेछन् !
हो ! मैले प्रेम गर्न जानिनँ
अरूले भनेको मानिनँ
केही सर्कसेहरूले साँप नचाएको देखेर
गोमन साँप छोप्न गएँ
तर सर्कसको साँप र बाहिरको साँप फरक हुँदोरहेछ
सर्कसको साँप नाचिरहन्थ्यो
बाहिरको थपक्क बस्दोरहेछ
नदेखिकन एक्कासि डस्दोरहेछ
आफ्नै अस्तित्वको लागि एकान्तमा बस्दोरहेछ !
फगत मैले सङ्गत बढाउन खोजेँ
अनि समाजलाई नागराजको नयाँ भाष्य पढाउन खोजेँ
तर मेरो बिटुलो बोली बन्द भयो
म बोल्न नसक्ने भएँ
महाभाष्यको जटिल सूत्र र अर्थ खोल्न नसक्ने भएँ
मलाई व्यर्थै इन्द्रजालका टुनामुना सिकाइएको रहेछ
तर म रनक्क तातेँ, चरक्क चर्किएँ, सनक्क सन्किएँ
मलाई बेजोडको शक्ति मिल्यो
मानौँ म वाघमाथि चढ्न सक्ने भएँ
एक्लै अरण्यभेदन गर्न सक्ने भएँ
एक्लै बघिनीसित जिस्किन सक्ने भएँ
अनि म तरङ्गिएँ सिरिङ्गिएँ
झाँक्रीले एकमुठी अक्षता र एक अम्खोरा पानीले
भूत, प्रेत र पिशाच मन्साएर खेदेजस्तै
मैले पनि विभेद, अहङ्कार र उँचनीच खेद्छु भने
तर म अपरिपक्क रहेछु
मलाई तन्त्रविद्याको सिद्धि रहेनछ
म आफैँ तन्त्रले समातिएँ
अपरिपक्क तन्त्रले
अशुद्ध मन्त्रले मलाई
थर्थर कमायो, म मुर्छा परें
म भुईंफुट्टा थिएँ
मेरा गुरु थिएनन्
तन्त्र- मन्त्र फर्काइदिनलाई
त्यसैले मलाई र मजस्तैलाई लडायो र लडाउँदै छ
अनि
मजस्तै विधर्मी कच्चा प्रेमीहरूलाई
एउटा पाठ पढायो र पढाउँदै छ !
त्यो के भने—–

अबदेखि प्रेम गर्दा
जात हेर्नू – भात हेर्नू
दिन हेर्नू – रात हेर्नू
काँडाघारीमा हामफाल्दा
हातखुट्टा बलियो बनाउनू
फगत उत्तेजनामा नआउनू
किनकि
काँडा तीखा हुन्छन् सङ्गीनभन्दा
छालामात्र होइन मुटु कलेजो घोच्छन्
जुनजुन अङ्ग कोमल छ
त्यही त्यही खोज्छन्
सकेसम्म एकमुठी प्राण रोज्छन्
किनकि कसैको प्राण निमोठ्दा
उनीहरु आफ्नो विजय ठान्छन् !
हो ! मैले प्रेम गर्न जानिनँ
अरूले भनेको मानिनँ
तैपनि
लुकिछिपी धूमिल प्रेम धानेकै थिएँ
तर बिहे गर्न हतारिएँ
किनकि मैले बिर्सेँ
बिहेको आफ्नै नियम छ
घडि छ पला छ
आफ्नै सङ्गीत छ कला छ
त्यसका निम्ति सिङ्गै समाजको एउटै गला छ
त्यो के भने—–
जात मिल्नुपर्छ
भात मिल्नुपर्छ
साथ मिल्नुपर्छ
दिन र रात मिल्नुपर्छ
त्योभन्दा पनि माथि
औकात मिलनुपर्छ
समाज भन्ने गर्थ्यो
बिहेमा जाँदा हामीले मात्र बाजा बझाउनुपर्छ
आफू रोएर पनि अरूलाई हसाँउनुपर्छ-नचाउँनुपर्छ
तर मैले यसलाई ठाडो चुनौती दिएँ
बिहेमा जान जानिनँ
अरूले भनेको मानिनँ
आफैँ बेहुलो बन्न तम्सिएँ
आफैँ हाँस्न थाले
उन्मत्त नाच्न थाले
उड्न थाले आफ्नै प्रेमको वायुयान लिएर
तुफानी गतिमा जमिन छोडेर आकाश चुम्नलाई
तर मेरो वायुयान गन्तव्यमा नपुग्दै
कालो बादल मडारियो
बाक्लो हुस्सु लाग्यो
यान अगाडि बढ्न सकेन
चट्याङ चड्कियो
गोलाबारुद पड्कियो
कम्पासले दिशा छुट्याउन सकेन
मेरा अरू पाइलट र यात्रु मजस्तै कच्चा रहेछन्
केही गर्न सकेनन् मैले पनि कसैसित सम्पर्क गर्न सकिनँ
मेरो कुनै टावरसित सम्पर्क थिएन
किनकि म विद्रोही क्याप्टेन थिएँ
अब मलाई जहाज र मान्छे अपहरणको मुद्दा लाग्न सक्छ
म मरे पनि मारिए पनि
यस्ता मुद्दा पटक-पटक जाग्न सक्छ !
तपाईँहरूले घटना मुचुल्का पढ्नुहोला
सके अगाडि बढ्नुहोला
नसके तारिख बोक्नुहोला
त्यो पनि नसके समानताको ढ्याङ्ग्रो ठोकिरहनु होला
छूत-अछुतको मुद्दा बोकिरहनुहोला !
किनकि
एक मुक्काले चट्टान फुट्दोरहेनछ
एक पाइलाले गन्तव्य पुगिदो रहेनछ
एउटै घाउ सबैलाई उस्तै दुख्दोरहेनछ
एउटा बलिदानले विजयका निम्ति पुग्दो रहेनछ ।

प्रतिक्रिया
Loading...