एउटी गर्भिणी मृगीले
पटपट फुटेको बाँजो भुइँको छाती टेकेर जान्छे ।
भुइँ स्यालक्क पर्छ ।
हावाको झोँकाले
मच्चाइरहेका सुरिला रूखहरूमा चराहरू छिल्लिरहेछन् ।
यत्तिकैमा अचानक
आकास गड्याङ-गुडुङ गरेर गर्जेको सुनेर
आफ्ना सारा लुगाहरू काडेर भुइँ लम्पसार पर्छ ।
फेरि एकपल्ट
भुइँलाई त्यो गर्भिणी मृगीले जत्तात्तै टेकेर जान्छे ।
भुइँ सहनु नसकेर मुर्छा पर्छ,
राल-सिँगान हुन्छ
तर बर्षा बर्सिँदै-बर्सिँदैन ।
फागुनको
त्यो एउटा दिन
भुइँ धूलो-धूलो भएर धुवाँ-धुवाँ गहनाइरहन्छ ।
अनि
त्यो गर्भिणी मृगी भने
कुनै एउटा पौराणिक कथाभित्र
स्वेच्छाले आफैँ बिस्तारी कैद हुँदै जान्छे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला