साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अंशबण्डा

कविता

नानी थापा

तिमी मेरो म तिम्रो,
म भन्नु नै तिमी,
तिमी भन्नु नै म,
मेरो सम्पत्ति तिमी,
मेरो संसार तिमी,
मेरो सर्वस्व तिमी,
मेरो प्राण तिमी,
मेरो जिन्दगी नै तिमी
मेरो भन्नु सबै तिम्रो
तिम्रो भन्नु सबै मेरो
भन्नेहरुले एक दिन
पारपाचुके गरे ।

अनि अंशबण्डा गरे
थाल, कचौरा, गिलासहरु
डाडु, पन्यु र चम्चाहरुसमेत
दराज, खाट, सोफाहरु,
डसना, सिरक र तन्नाहरु,
घर, जग्गा र खेतबारीहरु,
नगद, जिन्सी र बैंक ब्यालेन्सहरु,
तिलहरी, नौगेडी र मङ्गलसूत्र समेत
सबै बराबर भाग लगाए ऋणहरु पनि
गाई, भैंसी र बाछाबाछीहरु,
पाडापाडीहरु र पाठापाठीहरु,
कुखुरा, हाँस र चल्लाहरु,
सबै कुरामा सहमति भो ।

bahulako diary small and inside post

एउटै कुरामा मिलेन मन,
दुवैले ‘यो मेरो’ अनि ‘यो मेरो’ भन्दै
हारालुछ गरिरहे र
तानिरहे आ-आफूतर्फ
सर्लक्क दुई फ्याक पारी,
भाग लगाउन सकेनन् सन्तानलाई ।

कठै त्यो बबुरोले ‘बा’ वा ‘आमा’लाई
‘आमा मात्र मेरो’ र ‘बा मात्र मेरो’ भनेर
आफ्नो अंशमा दाबी गर्न सकेन
ती दुवैको खास अंशहरु मिलेर,
अस्तित्व पाएको त्यो अर्को अंशको
अंशभागमा बा र आमा नै बण्डा भए
अंशबापत ‘आमा’ र वंशबापत ‘बा’
अनि आमा-बाको काख एकैसाथ
आखिर उसले “अंश”मा पाएन ।

नानी थापा

प्रतिक्रिया
Loading...