रविन थपलिया

चुटिएको ठूले

 

तिम्रा नयनबाट
रगतका आँसु भलभली बग्दा
हेरिरहेँ, हेरिरहेँ
पुछिदिन सकिनँ ठुले !
बल्ल बुझ्दैछु
समय र स्थान
सबैभन्दा बलवान्।

सुखका कोपिला
फक्रनै लाग्दा
असिनाले क्या पिट्यो नि ठुले!
झुल्नु पर्ने आँप
लोत्रियो डाँठ
बल्ल बुझ्दैछु
जीवनले जीवन चुटेपछि
नस्तिकता क्या मौलाउँदो रहेछ।

ज्ञान र बैराग्यको
सलेदो सल्काउने बेला
नर चिन्तन र पर चिन्तनको
भेद खोतल्ने बेला
नाद र अनादमा
डुबुल्की लगाउने बेला
सुर र नुरको
गहिराई नाप्ने बेला
आकार र निराकारको
तत्व खोज्ने बेला
नियतिले क्या चुट्यो नि ठुले!
बल्ल बुझ्दैछु
अकारण आँधि आउँछ
र जीवनको जग हल्लाउँछ।

ठुले,
म चाहन्छु
असिनाहरू सर्माऊन्
आँधिहरू सुस्ताऊन्
हारुन् असहजताहरू
तिम्रा निश्छलता र समभावसँग।

हरूवा

फताङ्गेले सबै युद्ध हार्यो
लाग्छ
उसले हार्नकै लागि युद्ध लड्यो
र लड्छ।

‘बालयुद्ध’ लड्यो-
तीन वर्षको हुँदा जन्मेको भाइले
गुहु धुवायो
सिङ्गान पुछायो
बालकै नबनी गोठालो बनायो
भाइले जित्यो
उसले हार्यो
उसले बालयुद्ध हार्यो
उसको बालापन हार्यो।

‘भातयुद्ध’ लड्यो-
भुँडीले जित्यो
लड्दै छ
हार्दै छ
खै, कति लड्नु पर्ने हो?
कति हार्नु पर्ने हो?
कति खस्नु पर्ने हो?
उमेर बढ्दो
उमेरसँगै भुँडीको संख्या र जिम्मेवारी बढ्दो…
उफ ! शंख कहिले बज्ला!
घाम कहिले अस्ताउला!
र युद्ध रोकिएला!

प्रेमयुद्ध लड्यो-
धनले जित्यो
रुपले जित्यो
अभिमानले जित्यो
तर उस्को प्रेम र मनले हार्यो
कठै फताङ्गे
उस्ले सबैभन्दा कम्जोर युद्ध पनि हार्यो!
मन र मनको युद्ध होइन र यो?

‘जनयुद्ध’ लड्यो,
जङ्गल, चरा र उस्ले हारे
नेताले मात्र जिते
‘धनयुद्ध’ लड्यो,
लोभ र अपराधले मात्र जिते
‘मनयुद्ध’ लड्यो,
शोक र रोगले मात्र जिते
‘धर्मयुद्ध’ लड्यो ,
पाखण्ड र पत्थरले मात्र जिते
‘कर्मयुद्ध’ लड्यो,
माफिया र मालिकहरुले जिते
ऐजन ऐजन…

सोच्छु,
फताङ्गेले आत्मयुद्ध हारेन कि !
अहंकार जित्यो कि!
आँशु जित्यो कि!
यादहरू जित्यो कि!
अमूर्त युद्धहरू जित्यो कि!

प्रारब्ध !