अवस्थित छ समाज अतितको भूमिमा
संस्कृतिको नाममा, बोझ छ काँधमा ।
जाति धर्म वर्गमा विभाजित जन
छैन सहृदयता, छ परस्पर संघर्षण ।

व्यक्तित्वको अन्तरस्थिति
अन्तर्द्वन्द्व भयावह,
त्यसैको प्रतिविम्ब
परिवार समाजमा कलह ।
समाजको रुपान्तरणमा
बढ्दछ जन प्रवाह
अन्तरस्थिति रुपान्तरणको
कस्लाई छ थाहा ?

पुर्खाका खोज सबै
जड आज, रसविहीन
बोझ हाम्रो छातिमा भो
सधैँका हामी दीन-हीन ।

व्यथा-व्यथा जीवन कथा
उधारो सब समाज प्रथा
सुख्खा-सुख्खा आँखा सुख्खा
तन भोका, मन भोका ।

भोग-सम्भोगलाई भोको तन
कला विज्ञानलाई भोको मन
मुक्तिको भोको आत्मा छ
सोपान-सोपान चड्नु छ ।

जिन्दगीका रङ्ग-ढङ्ग सब
होस् आफ्नै हातको आर्जन,
संस्कृतिका विकृतिहरु
होस् नव चेतनामा परिमार्जन ।

व्यर्थ नजाऊन् श्रम-परिश्रम
हटून् सबै भ्रम विभ्रम
बढौँ हे, अघि बढौँ
सबै-सबै सोपान चढौँ ।