अमित गाैतम

अचेल, मलाई अचम्म लाग्छ
यो सोचेर होइन कि म किन यति साह्रो अन्तर्मुखी छु;
ऊ कसरी लुकाउछे,
आफ्नो चोलीभित्र, कठ्याङ्ग्रिने जाडोमा
पैताला घोच्ने दुबोजस्ता चित्कारहरु ।

अचेल, मलाई अचम्म लाग्छ;
कसैलाई सुइँकोसम्म नदिई,
नङपालिसले रंगिएका हातबीच,
कसरी ऊ व्यग्रताका साथ सिगरेट समाउँछे;
कसरी उसले ऐस्ट्रेमा झार्नुपर्ने धुवाँ,
निरन्तर घाँटी, छाती हुँदै नितम्बसम्म पुर्याउँछे ।

अचेल मलाई अचम्म लाग्छ,
उसका हाइड्रोलिक ब्रेकरूपी खुट्टाहरु,
कसरी समयअघि नै रोकिन्छन्
कसरी थाम्छे ऊ आफूलाई,
घामकीरीका पुच्छरमा बाँधिएको धागोजस्ता,
आकांक्षाका बादलहरुको ओजलाई ।

अचेल, मलाई अचम्म लाग्छ,
कसरी ऊ एक अजम्बरी रुखझैँ
बन्चरोको चोट सहने कसम खाएजसरी
प्रेमिल ताजमहलझैँ
छाती खोलेर उभिएकी छ ।

अचेल, मलाई अचम्म लाग्छ,
उसको बारेमा सोचेर
ऊ रुने बिछ्यौना कुन रङको होला,
कहाँ सङ्गालेकी होली
ती आँशु र सपनाका आहालहरू ।
कस्ता हुँदा हुन् त्यहाँ बग्ने भेलहरू–
कर्नालीझैँ सफेद र शान्त
वा
बागमतीको पट्यारलाग्दो लेदोसँग साइनो लाउन पुग्छे ।

अचेल,मलाई अचम्म लाग्छ;
उकालो चढ्दै गर्दा देखिने ती गौँथलीहरू,
कहाँबाट ओसार्छन् तिनले ती आशाका त्यान्द्राहरु,
कुन पखेटाहरुमा बेर्दा हुन्,
कुन कुरुसले बुट्टा भर्दा हुन् ।

अचेल, मलाई अचम्म लाग्छ;
ती पर्खालभित्र उसका बचेरा मात्र अटाएका छैनन्

अचेल, मलाई अचम्म लाग्छ;
उसका कलात्मक औँला र सुमधुर गलाबीच
के सामञ्जस्यता छ,
ऊ आफ्नी आमाको लागि मात्र गाउँदिन
कोइलीभन्दा भिन्न उसलाई कसले बनायो ?

अचेल, मलाई अचम्म लाग्छ;
ऊ घर कसरी पुग्छे,
ती हावाभन्दा हलुका
तर, अप्ठ्यारा पानाहरू चढेर ।